समाचार
तिनै तहको सरकारको समन्वयमा मात्रै विकास संभव छ ः मन्त्री भुषाल
रेडियो आँधीखोला
वालिङ, ४ असार ।
कृषि तथा पशुपंक्षी मन्त्री बेदुराम भुषालले संघिय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी अगाडि बढेमा मात्रै विकास संभव रहेको बताउनुभएको छ । आईतबार प्रधानमन्त्री कृषि आधुनिकिकरण परिोजना कार्यान्वयन ईकाई स्याङ्जाको आयोजना तथा केराबारी कृषक समुहको समन्वयमा आयोजित सुन्तला रोपन अभियानको सुभारम्भ गर्दै मन्त्ती भुषालले स्थानीय तहले यहाँका संभावनाहरुको खोजी गरी गुरुयोजना तयार गरी प्रदेश तथा केन्द्र सरकारसंग समन्वय गरेर बजेट विनियोजन गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको हो ।
स्याङ्जा सुन्तला, कफि उत्पादनका दृष्टिले महत्वपुर्ण जिल्ला भएकाले यहाँका अन्य संभावनाहरुकोे खोजी गरी ठुलो परिणाममा कृषि उत्पादन गरी निर्यात गरेमा स्याङ्जा नमुना जिल्ला बन्ने मन्त्री भुषालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले देशव्यापी रुपमा बाँझो जग्गाको उपयोग गर्ने योजनाका साथ अगाडि बढेका छौँ । बाँझो जग्गालाई चक्लाबन्दी गरी माटो तथा हावापानी सुहाउँदो खेति गरी उत्पादन बढाउने योजनाका साथ लागेका छौँ ।’
बाँझो जग्गाको उपयोगका लागी सरकारले निति तथा कार्यक्रम नै बनाएको भन्दै यस कार्यक्रमका लागी बजेट समेत छुट्याईएको मन्त्री भुषालको भनाई छ । अहिले कृषि खेतिका लागी बाँदर आतंक चुनौतीका रुपमा रहेकाले यसको व्यवस्थापनमा सरकार ऐन संसोधन गरेर समेत अगाडि बढ्ने बताउनुभयो ।
बाँदर व्यवस्थापनका लागी विद्युतिय तारबार लगाउने, बाँदर नर्मर्ने तर करेन्टको डरले भाग्ने, बाँदरको संख्या बृद्धि भईरहेकाले यसको न्युनिकरणका लागी समेत ऐन बाधक बनिरहेको भन्दै मन्त्री भुषाले कतिपय योजनाहरु ऐनका कारण गर्न नसकिएको बताउनुभयो । ऐन कानुन संसोधन गरेर भएपनि कृषि उत्पादनमा लाग्नुपर्ने भन्दै कृषि नै समृद्धिको आधार भएको मन्त्री भुषालको भनाई छ ।
भीरकोट ५ को स्वरेक केराबारीमा सामुहिक सुन्तला खेति शुरु गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटि, डा गोविन्दप्रसाद शर्मा, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यलगायतले बोल्नुभएको थियो । कार्यक्रम परियोजना निर्देशक विनोद कुमार भट्राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कृषक समुहका यामप्रसाद अधिकारी र संचालन परियोजना कार्यालय प्रमुख माधव लम्सालले गर्नुभएको थियो ।