समाचार
सञ्चार माध्यमद्वारा गरिएको विरोधप्रति गाउँपालिका अध्यक्ष मानन्धरको ध्यानाकर्षण
वालिङ, ८ असार ।
स्याङ्जाको हरिनास गाउँपालिकाले असार ५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको केही सदस्यहरुद्वारा विभिन्न सञ्चार माध्यमद्वारा गरिएको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले बताउनुभएको छ ।
नीति तथा कार्यक्रम र बजेटवारे गरिएको विरोधको कुनै औचित्य नरहेको पालिकाका अध्यक्ष मानन्धरको भनाइ रहेको छ । पालिकाले पटक पटक राखेको बैठकमा उपस्थित भएर आफ्ना धारणा नराख्ने र बैठकको निणर्यमा हस्ताक्षर पनि नगरेकाहरुले विरोध गर्नुको औचित्य नरहेको अध्यक्ष मानन्धरले बताउनुभयो ।
पालिकाको विकास र समृद्धिमा प्रतिवद्ध रहेको भन्दै पालिकावासीको साथमा साथ र हातमा हात मिलाएर काम गर्न लागिपरेका अध्यक्ष मानन्धरको दावी छ । बैठकमा कार्यपालिकाका सदस्यहरुले आ—आफ्नो धारणा राख्ने र छलफल गर्नुपर्ने भन्दै आफ्नो धारणा नराख्ने र छलफलमा पनि भाग नलिने साथीहरुले विभिन्न सञ्चार माध्यमबाट असन्तुष्टि व्यक्त गरेको अध्यक्ष मानन्धरको भनाई छ ।