अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

गल्याङमा १३औ नगरसभाद्धारा नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित

news

 
रेडियो आँधीखोला 
वालिङ, ११ असार ।
स्याङ्जाको गल्याङ नगरपालिकाको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ । गल्याङ नगरपालिकाको सभाहलमा हिजो सम्पन्न नगरपालिकाको १३ औं नगरसभामा नगरप्रमुख गुरुप्रसाद भट्टराईले पेश गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख हेमा न्यौपानेले पेश गर्नुभएको बजेट सर्वसम्मत भएको हो ।
 
नगरसभामा आगामी वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख भट्टराईले सम्मुनत गल्याङ नगर बनाउने अभियान थालिएको बताउनुभयो । उहाँले केही महत्वकांक्षी योजना पेश गर्दै सबैको सहकार्यमा त्यो सम्भव रहेको बताउनुभयो । बसौं बसौं लाग्ने गाउँ र सहर, समुन्नत र सम्बृद्व गल्याङ नगर’ नारा सहित सुरु भएको नगरभामा नगरप्रमुख भट्टराईले यसलाई नारामा सीमित नगरिने भन्दै लक्ष्य पुरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।  
नगरसभामा भट्टराईले प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा कृषिलाई आत्मनिर्भर बनाउने आवश्यक कार्य गर्ने उल्लेख गरिएको छ । यसका लागि बाँझो जग्गा लिजमा लिई युवाहरुलाई रोजगार दिने, मासु र दुध उत्पादनमा दोब्बर बृद्धि गर्ने, उत्पादन वर्ष २०८० सुरु गर्ने, ५० लाख बराबरको मकै विउ उत्पादन गर्ने, 
 
बाँदरको समस्या समाधान गर्न अन्य पालिकासँग आवश्यक समन्वय गरि नीति बनाउने, मसलाबाली कार्यक्रम प्रभावकारी सञ्चालन गर्ने, विमा कार्यक्रम, घाँसको स्रोत केन्द्र स्थापना गर्ने, दुधमा दिइएको प्रतिलिटर १५ रुपैयाँ अनुदानलाई निरन्तरता दिने, सबै वडामा पशु स्वास्थ्य शिबिर र पशु प्राविधिकको व्यवस्था गर्ने, नमूना अर्गानिक गाउँ बनाउने लगायतका विषयहरु समेटिएका छन् ।
 
यस्तै, नगरपालिकाभरी नै एक घर एक करेसाबारी, तीन वर्ष भित्र एक घर एक धारा फोहोरमैलाको दीर्घकालिन व्यवस्थापन, घुम्ती शौचालय, सिंचाईका लागि विस्तृत परियोजना प्रतिबेदन तयार गर्ने, एक सहकारी एक उत्पादन कार्यक्रम, खुल्ला व्यायाम केन्द्र स्थापना, कालिगण्डकी ¥याफ्टिङ तथा बञ्जी जम्पका कार्यक्रमहरु प्नि नीति कार्यक्रममा समेटिएको छ । 
 
नीति तथा कार्यक्रममा प्राकृतिक मनोरञ्जन पार्क निर्माण, पूर्ण छुवाछुत मुक्त नगरपालिका, नगर स्तरीय खेलकुद प्रतियोगिता, मालुङ्गा, जिमुहा र बेलचौरमा क्रिकेट मैदान निर्माण, वडा कार्यालय नभएका वडाको आफ्नै भवन निर्माण, नगरभित्रका मुख्य सडकहरुको कालोपत्रे, यस वर्ष भित्र सबै खरको छानो मुक्त गर्ने, एक विद्यालय एक योग गुरु, विद्यालय नर्स, समुदाय नर्स कार्यक्रम पनि राखिएको छ । यसै वर्ष भित्र प्रशासनिक भवन निर्माण, बसपार्क निर्माण सुरु गर्ने, बजार क्षेत्रमा सडक बत्ति निर्माण, अपाङ्गमैत्री र लैङ्गिक मैत्री संरचना बनाउने नीति कार्यक्रममा उल्लेख छ ।
 
नगरप्रमुख भट्टराईले पेश गर्नुभएको नीति कार्यक्रम सर्बसम्मत पारित भएसँगै उपप्रमुख हेमा न्यौपानेले आगामी आर्थिक वर्षका लागि अनुमानित ८१ करोड ४४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेट प्रस्तुत गर्दै उहाँले लक्ष्य प्राप्तिका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा ७७ दशमलब ७५ खर्च भएको जानकारी दिदै असार मसान्तसम्ममा ९० प्रतिशत खर्च हुने सक्ने बताउनुभयो । उपप्रमुख न्यौपानेले आन्तरिक राजश्व तीन करोड ५० लाख आम्दानी हुन सक्ने अनुमान गरिएको बताउनुभयो ।   
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...