समाचार
स्याङ्जाका ११ स्थानीय तहमध्ये १० को मात्र बजेट प्रस्तुत,बिरुवा गाउँपालिले भने बजेट ल्याउन सकेन
रेडियो आँधीखोला
वालिङ, १२ असार ।
स्याङ्जाका ११ वटा स्थानीय तहमध्ये १० वटाले मात्र आगामी आर्थिक वर्षका लागि बजेट सार्वजानिक गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार यहाँका पालिकाहरुले बजेट गाउँ÷नगर सभामा प्रस्तुत गरेका हुन् ।
आँधीखोला गाउँपालिकाले आगामी आवको लागि ६२ करोड ९ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ कार्यालय संचालन र प्रशासनिक खर्चमा ७ करोड ४५ लाख, आर्थिक, सामाजिक, सुशासन न्याय र समावेशीकरणतर्फ ३ करोड ५१ लाख २० हजार र पुँजीगततर्फ १३ करोड १५ लाख रहेको छ । गाउँपालिकाका अध्यक्ष विश्व पौडेलका अनुसार ससर्त अनुदानतर्फ ३७ करोड ९८ लाख रहेको छ ।
यस्तै, अर्जुनचौपारी गाउँपालिकाले ४४ करोड ६९ लाखको बजेट सार्वजानिक गरेको छ । पालिका प्रमुख प्रकाश तिवारीका अनुसार चालुतर्फ २६ करोड ७६ लाख र पुँजीगततर्फ १७ करोड ९३ लाख रहेको छ । त्यस्तै कालीगण्डकी गाउँपालिकाले ५४ करोड ५४ लाख ५४ हजारको बजेट सार्वजानिक गरेको छ । गाउँपालिका प्रमुख खिम थापाका अनुसार चालुगततर्फ ३४ करोड २६ लाख र पुँजीगततर्फ २० करोड १८ लाख रहेको छ ।
यसैगरी फेदीखोला गाउँपालिकाले ३९ करोड ८० लाख ८० हजारको बजेट सार्वजानिक गरेको छ । चालुतर्फ २७ करोड ४३ लाख २५ हजार र पुँजीगततर्फ १२ करोड ३७ लाख ५५ हजारको बजेट सार्वजानिक गरेको छ ।
चापाकोट नगरपालिकाले पनि आइतबार ६५ करोड ६७ लाख १७ हजारको बजेट ल्याएको छ । नगरपालिकाका नगरप्रमुख देव बहादुर खाँण (इश्वर) ले नगरपालिकाको १३ औँ नगरसभामा आ.व.०८०÷०८१ के लागि ६५ करोड ६७ लाख १७ हजार ३ सयको बजेट सार्वजनिक गर्नुभएको हो । नगरप्रमुखले खाँणले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ४२ करोड १ लाख ६१ हजार ३ सय अर्थात ६३. ९७ प्रतिशत र पुँजीगततर्फ २३ करोड ६५ लख ५६ हजार ३६. ०३ प्रतिशत रहेको छ ।
करारका कर्मचारीलाई बर्खास्त गर्नुपर्ने माग राख्दै कार्यपालिकाको बैठकमा विरोध भएपछि बिरुवा गाउँपालिकाले भने बजेट ल्याउन सकेन । वालिङ, पुतलीबजार, गल्याङ, भीरकोट नगरपालिका र हरिनास गाउँपालिकाले बजेट ल्याईसकेका छन् ।