समाचार
चापाकोटका किसानलाई १६ हजार लिचि र आँपका विरुवा निःशुल्क वितरण
रेडियो आँधीखोला
वालिङ, १६ असार ।
स्याङ्जाको चापाकोट नगरपालिकाले यहाँका किसानलाई १६ हजार लिचि र आँपको विरुवा निःशुल्क वितरण गरेको छ । व्यवसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन चापाकोट नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, परियोजना कार्यान्वयन एकाई, स्याङ्जाको लागत सहभागीतामा नगरभित्रका किसानहरुलाई निःशुल्क आँप र लिचिको विरुवा वितरण गरेको हो ।
युवा व्यवसायी एवं न्यू राधाकृष्ण ट्रेडर्सका सञ्चालक राधाकृष्ण तिवारीले नगरपालिकाले निःशुल्क रुपमा लिच्ची र आँपको विरुवा उपलब्ध गराएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मैले २६ रोपनी जग्गामा चार सय विरुवा लगाउने अभियानमा लागेको छु ।”
चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुव्र खनालले नगरपालिकाको समथर भूमिकामा आँप र लिचिको प्रचुर सम्भावना देखेर विरुवा लगाउने अभियान शुरु गरेको बताउनुभयो । विरुवा लिन आएका केही किसानहरुले नपाएको गुनासो आएको भन्दै यसै हप्ता थप विरुवा ल्याएर वितरण गर्ने योजना बनाइसकेको बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, परियोजना कार्यान्वयन एकाई, स्याङ्जाका प्रमुख माधव लम्सालले गतवर्षभन्दा यो वर्ष लिची र आँपको विरुवा लगाउन चापाकोटका किसानहरु उत्साहित भएको बताउनुभयो । चापाकोटको समथर भुभाग प्रचुर सम्भावना देखेर गतवर्षदेखि आँप, लिच्चीे जोनको कार्यक्रम सञ्चालन गरेको लम्सालको भनाई छ ।
चापाकोट नगरपालिका नगरप्रमुख देव बहादुर खाँण (इश्वर) ले पालिकाले किसानहरुलाई आँप र लिचिमा आत्मनिर्भर बनाई निर्यात गर्ने उद्देश्यका साथ आम्रपाली जातको १० हजार आँप र सिडलेस जातको ६ हजार लिचिको विरुवा वितरण गरेको बताउनुभयो । नगरप्रमुख खाँणले भन्नुभयो, “लिचि र आँप लगाउन इच्छुक कृषकलाई नगरपालिकामा निवेदन दिन अनुरोध गरेका थियौँ । उहाँहरुको उत्साहजन सहभागीता देखेर खुशी लागेको छ । हामीले यहाँका प्रत्येक घरमा कम्तिमा २० वटा लिची र १० आँप लगाउने अभियानमा लागेका छौँ । यो कार्यक्रमलाई अर्को वर्षपनि निरन्तर दिन्छौँ ।”