समाचार
फोनिज स्याङ्जाको आयोजनामा आधारभुत पत्रकारिता तालिम शुरु
रेडियो आँधीखोला
वालिङ, १७ असार ।
नेपाल आदिवासी पत्रकार महासंघ स्याङ्जाको आयोजनामा तिनदिने आधारभुत पत्रकारिता सम्बन्धी तालिम शुरु भएको छ । वालिङ नगरपालिकाको सहयोगमा आयोजित पत्रकारिता तालिम वालिङ ६ मिर्दिमा शुरु भएको हो । तालिमको उद्दघाटन गर्दै वालिङ नगरपालिका नगरप्रमुख कृष्ण खांणले पत्रकारिताको बहुआयामिक महत्व रहेको भन्दै राज्यको चौँथो अंग पत्रकारिता माध्यम रहेको बताउनुभयो ।
जनजाति समुदायका युवापुस्तालाई पत्रकारितामा गुणात्मक सहभागिताको लागी आयोजित पत्रकारिता तालिमले पत्रकारिताको क्षेत्रमा प्रदेश तथा केन्द्रिय तहसम्म प्रतिनिधित्व हुने गरी तालिममा सहभागि हुन आग्रह गर्दै तालिमलाई व्यवसायिक तथा व्यवहारिक बनाउनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले नगरस्थित आदिवासी जनजातीहरुको भाषा, धर्म, संस्कार र संस्कृतिको जर्गेना गर्नका लागी विभिन्न कार्ययोजनाहरु ल्याएको नगरप्रमुख खांणले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल अनेकतामा एकता भएको मुलुक हो । त्यसमा पनि आदिवासी जनजातिहरुको संस्कार र संस्कृतिको माध्यमबाट पर्यटनको संभावनाहरुलाई उजागर गर्न सकिन्छ ।’ कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीसमगर, आदिवासी जनजाती महासंघका अध्यक्ष जुमकाजी गुरुङ, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, नेपाल मगर संघ वालिङ नगर उपाध्यक्ष सिता थापालगायतले बोल्नुभएको थियो ।
कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष तिलक गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव धनु गुरुङले गर्नुभएको थियो । तालिमको पहिलो दिन फोनिजका प्रदेश अध्यक्ष रुद्र श्रीस, सुमन गुरुङ र फोनिजका सल्लाहकार गोपाल जिटिले प्रशिक्षण दिनुभएको थियो ।