समाचार
पुतलीबजारको सहिदचोकमा सुन्तलाको प्रतिमा स्थापना
रेडियो आँधीखोला
वालिङ, २० असार ।
पुतलीबजार नगरपालिकाले सदरमुकामस्थित मुख्य बजारको चोकमा सुन्तलाको प्रतीक स्वरूप दुईवटा हरिया पात र डाँठसहित एउटा पाकेको सुन्तला दानाको प्रतिमा स्थापना गरेको छ । सदरमुकाम सहितको पुतलीबजार नगरपालिका–१ स्थित सहिदचोकमा निर्मित टावरको भित्री भागमा पाकेको सुन्तलाको फल राखिएको हो।
नवलपरासी निवासी नरबहादुर विकले झण्डै ३ महिनामा निर्माण गरेका हुन्। करिब ५० किलो तौलको सो प्रतिमामा तामा, पित्तल लगायतका विभिन्न धातु मिश्रण गरी करिब ५ लाखको लागतमा निर्माण गरिएको हो। समग्र जिल्लाकै पहिचान बोकेको सुन्तला र त्यसमा पनि पुतलीबजारमा अत्यन्तै राम्रो उत्पादन हुने भएकाले सुन्तलाको प्रवर्द्धन एवं पहिचानका लागि सुन्तलाको प्रतिमा राखिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।
सिद्धार्थ राजमार्गमै पर्ने सहिद चोकमा ‘एउटा सुन्तलाको पाकेको फल’ स्वरूपको प्रतिमाले स्याङ्जाको पहिचान प्रदर्शन गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।