समाचार
स्याङजामा एसईईमा ४ जीपीए ल्याउने २ जना
रेडियो आँधीखोला
वालिङ, २३ असार ।
माध्यमिक शिक्षा परिक्षा एसईईमा स्याङ्जाबाट दुईजनाले ४ जिपिए ल्याउन सफल भएका छन् । स्याङ्जा जिल्लाबाट यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १ सय ३५ जना रहेका छन् । जिल्लाबाट ४ जिपिए ल्याउने भने २ जना मात्र रहेका छन् । ४ जिपिए ल्याउने दुबैजना संस्थागत बिद्यालयका बिद्यार्थी हुन् ।
जिल्लाको वालिङ स्थित भूम्रेमा रहेको पिसजोन इन्टिग्रेटेड एजुकेशनल एकेडेमीका संगित भूसाल र गल्याङको चिराग आवासीय माविका उमेश चापागाईले ४ जिपिए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख विश्वराज आचार्यले जानाकारी दिनुभयो ।
सर्वोत्कृष्ट नतिजा प्राप्त गरेका पिसजोन एकेडेमिका भुसाल पर्वत जिल्ला पैयुँ गाउँपालिका ७ भोर्लेका स्थायी बासिन्दा रहनुभएको छ । सर्वोत्कृष्ट नतिजा ल्याएका विद्यार्थी भुसालले निरन्तरको लगाव र मिहिनेतले गर्दा उत्कृष्ट नतिजा आएको बताउनुभयो ।
जिल्लाबाट एसईई परीक्षामा ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ३ सय ७५ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६ सय ९७ जना, २.४ देखि २.८ ल्याउने १ हजार २६, २ देखि २.४ जीपीएसम्म ११ सय १८ जना रहेका छन् । त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ७ सय ८७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षार्थीको संख्या २ सय ९० जना रहेका छन् । १.२ भन्दा पनि मुनिको श्रेणीमा १२ जना रहेको शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख विश्वराज आचार्यले जानाकारी दिनुभयो ।