समाचार
वालिङ उद्योग वाणिज्य संघद्धारा कर शिक्षा
रेडियो आँधीखोला
वालिङ, २३ असार ।
वालिङ उद्योग वाणिज्य संघले कर शिक्षा प्रदान गरेको छ । संघको सचिवालयमा आयोजित कार्यक्रममाथि प्रकाश पार्दै उद्योग वाणिज्य संघ वालिङका अध्यक्ष चेतनारायण श्रेष्ठले कर शिक्षाका बारेमा सबै उद्योगी व्यापारी जानकार हुनुपर्ने भन्दै कतिपय व्यापारव्यवसायमा अन्जानमा भएका गल्तीले धेरै आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था समेत सृजना हुने भएकाले करसंग डराउन नहुने बताउनुभयो । स्वच्छ प्रतिष्पर्धा गर्नुपर्ने भन्दै करको छलि गरेर व्यवसाय गर्न खोजियो भने त्यो व्यवसाय सफल हुन नसक्ने भन्दै उद्योग व्यापारको लागी अनुगमनका लागी आउँदा पसल बन्द गर्नुभन्दा अनुगमनकर्ताहरुसंग राम्रो वातावरण सृजना गरेर साथ दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरु, महिला उद्यमी विकास समितिका पदाधिकारी तथा सदस्यहरु एवं उद्योगी व्यावसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कुशल पाण्डेले कर तथा राजस्व सम्बन्धी आधारभुत जानकारीहरु प्रदान गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष अनुपमा तिवारी र संचालन कार्यालय प्रमुख बाबुराम रेग्मीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा ४२ जनाको सहभागिता रहेको थियो ।