समाचार
गल्याङमा उद्घोषण तथा माइन्युट लेखन तालिम सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २४ असार ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ र ३ मा स्टेज उद्घोषण तथा माइन्युट लेखन तालिम सम्पन्न भएको छ । गल्याङ नगरपालिकाको आयोजनामा वडा नम्बर १ को वडा कार्यालय र वडा नम्बर ३ को वडा कार्यालयमा पाँच दिनसम्म सञ्चालन भएको तालिम हिजो सकिएको हो ।
वडा नम्बर १ मालुङ्गामा भएको तालिम समापन कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले तालिम लिएर प्रमाणपत्र ग्रहण गरेर मात्रै नहुने भन्दै त्यसको सदुपयोग गर्न सकेमा अर्थ रहने बताउनुभयो । नगरप्रमुख भट्टराईले नगरपालिका भित्रका वासिन्दालाई सबै क्षेत्रमा योग्य र सक्षम बनाउन नगरपालिका प्रतिबद्व रहेको पनि बताउनुभयो ।
नगरप्रमुख भट्टराईले दैनिक जीवनमा क्रियाशिल रहँदा आवश्यक पर्ने माइन्युट लेखन तालिम प्रभावकारी रहेको भन्दै यसको सदुपयोग गर्न आह्वान गर्नुभयो । नगरवासीलाई सक्षम बनाउन आउँदा दिनहरुमा पनि यस्ता तालिमहरु नियमित ल्याउने भन्दै उहाँले आफुलाई आवश्यक कुराको बारेमा पनि जनप्रतिनिधिमार्फत जानकारी गराउन आग्रह गर्नुभयो ।
यस्तै, वडा नम्बर तीन को कार्यालयमा भएको समापन कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले छोटो अवधिको तालिमबाट पनि महिलाहरुमा धेरै नै परिवर्तन आएको भन्दै खुशी व्यक्त गर्नुभयो । वडा नम्बर तीनका अध्यक्ष कृष्ण भट्टराईले महिलाहरुको क्षमता विकासका लागि तालिम महत्वपूर्ण भएको भन्दै फेरी पनि विभिन्न कार्यक्रमहरु ल्याइने बताउनुभयो ।
वडा नम्बर १ र ३ मा पाँच पाँच दिन सम्म भएको छुट्टाछुट्टै तालिमको सहजिकरण गल्याङ एफएमका प्रबन्धक केपी खनाल, रेडियो आँधिखोलाका प्रबन्धक तोलाकान्त बगाले, पत्रकार अमृत अर्याल, दर्बेन्द्र देब खनाल, खगेन्द्र भण्डारी लगायतले सजहीकरण गर्नुभएको थियो ।