अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

डेङ्गी रोकथाम र नियन्त्रणको लागि काठमाण्डौका पालिकाहरुले अभियान सञ्चालन गर्दै

news

 

 असार २५, काठमाण्डाै - डेङ्गीको जोखिम बढेपछि पालिकाहरुले ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएका छन् । काठमाण्डौ उपत्यकाका पालिकाहरुले डेङ्गी रोकथाम र नियन्त्रणको लागि अभियान शुरु गर्न लागेका हुन् ।

पालिकाका प्रतिनिधिसँग भएको छलफलमा चार महिनासम्म अभियान सञ्चालन गर्ने सहमति भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाख अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाहरुले चार महिना लामुखट्टेको बासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गर्नेछन् । पालिकाले हरेक हप्ता टोल–टोलमा गएर पानी जम्ने सम्भावना भएको ठाउँ खोजी गरी नष्ट गर्नेछन् ।

महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले उपत्यकाका सबै पालिकाहरुलाई रोकथाम र नियन्त्रण गर्न आग्रह गर्दै यसका लागि आवश्यक सहयोग उपलब्धसमेत गराइने जानकारी दिनुभयो  । पानी परेसँगै जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्ने भएकोले डेङ्गीको जोखिम बढ्दै आएको छ । महाशाखाका अनुसार काठमाण्डाैमा ४६, ललितपुरमा १२ र भक्तपुरमा ३५ जना डेङ्गीका बिरामी भेटिएका छन् ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर  टोकेपछि डेङ्गी रोग लाग्दछ । डेङ्गीले गर्दा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेजस्ता लक्षण देखा पर्दछन् ।

लामखुट्टेबाट बच्न सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा  काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल तथा ढोकामा जाली राख्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । 

तस्बिर : स्वास्थ्य मन्त्रालय

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...