समाचार
स्याङ्जाको गल्याङ नगरपालिका लोपोन्मुख पेसा संरक्षण अभियानमा
रेडियो आँधीखोला
वालिङ, २७ असार ।
परम्परागत पेसा लोप हुन थालेपछि स्याङ्जाको गल्याङ नगरपालिका लोपोन्मुख पेसा संरक्षण अभियानमा जुटेको छ । आधुनिक औजारको अभाव, नयाँ पुस्तामा सिप हस्तान्त्रण नहुनु, परम्परागत पेसालाई हेलाको दृष्टिकोणले हेरिनु जस्ता समस्याको सामना गरिरहेका दलित समुदायले गर्ने पेसा संरक्षणको अभियानमा नगरपालिका जुटेको हो ।
गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले दलित समुदायले गर्ने सिप लोपोन्मुख अवस्थामा पुग्नु् सबैको चिन्ता र चासोको विषय बनेको बताउनुभयो । उहाँले दलित समुदायले गरेका परम्परागत आरन, सिलाइकटाइ, मादल बनाउने, जुत्ता सिलाउने लगाएतका पेसालाइ टिकाउन र नयाँ पुस्तामा हस्तान्त्रण गर्नका लागि विषेश योजना सहित नगरपालिका अगाडि बढेको बताउनुभयो ।
गल्याङ नगरपालिका सामाजिक विकास अधिकृत ढालबहादुर केसीले परम्परागत पेसाको संरक्षणमा सहयोग पुगोस भन्ने उद्देश्यले पहिलो चरणमा १८ जना नागरिकलाई आरन व्यवस्थापन सम्बन्धि सामग्री वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार दलित उत्थान तथा सशक्तिकरणका लागि आरनका लागि पंखा १४ थान, इलेक्ट्रोनिक पंखा एक थान, घन ५३ थान, गैन्डर मेसिन छ थान, सनासो २० थान, वेल्डिङ मेसिन तीन थान, रेती २२ थान, लिइ १३ थान पुर्ण अनुदानमा वितरण गरिएको हो । यस अघि नगरपालिकामा मादल बनाउने पेसा गर्नुभएका एक मात्र व्यक्तिलाइ उपकरण खरिदका लागि १२ हजार सहयोग गरिसकिएको केसीको भनाइ छ ।
गल्याङ नगरपालिका ११ का वडा सदस्य ससिकुमार विकले दलित समुदायले गर्ने परम्परागत पेसालाई हेलाको दृष्टिकोणले हेर्दा युवाहरु आकर्षित हुन नसकेको बताउनुभयो । उहाँले समयानकुल आधुनिक प्रविधिको प्रयोग नबढ्दा पनि परम्परागत पेसामा श्रम र समय अत्यन्त धेरै खर्च हुने गरेको बताउनुभयो ।
गल्याङ नगरपालिका ४ कराङ्दीका लक्ष्मण सुनारले छोरानातीले आरन व्यावसायमा चासो नदिएका बेला नगरपालिकाले आरन संरक्षणका लागि पहल गरिदिदा खुसि लागेको बताउनुभयो । गल्याङ नगरपालिकाकी उपप्रमुख हेमा न्यौपाने तिमल्सीनाले पहिलो चरणमा परम्परागत पेसा संचालनका लागि आवस्यक सामग्री वितरण गरिएपनि दोस्रो चरणमा सिपमुलक तालिम र विभिन्न प्रशिक्षणात्मक कार्यक्रम संचालनका लागि नगरपालिकाले पहल गर्ने बताउनुभयो ।