समाचार
२१० औं भानु जयन्तीका वालिङमा खुला छन्दोवद्ध कविता वाचन प्रतियोगिता
रेडियो आँधीखोला
वालिङ, ३० असार ।
स्याङ्जाको वालिङमा खुला छन्दोवद्ध कविता वाचन प्रतियोगिता गरिएको छ । २१० औं भानु जयन्तीका अवसरमा भेषजराज साहित्य प्रतिष्ठान र वालिङ बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा शुक्रबार खुला छन्दोवद्ध कविता वाचन प्रतियोगिता गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै विन्दवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य प्रा. डा..जगनाथ रेग्मीले आदिकवि भानुभक्तको बारेमा हामीले जति वर्णन गरेपनि कमै हुने बताउनुभयो ।
नेपाली साहित्यमा भानुभक्तको योगदान अतुलनीय रहेको उहाँले औंल्याउनुभयो । भानुभक्तलाई बास्तविक रुपमा सम्झने भनेको यस्तै साहित्यिक कार्यक्रम गरेर हो भन्दै प्रा. डा. रेग्मीले छन्दोवद्ध कविता वाचन प्रतियोगिताको प्रशंसा गर्नुभयो । विद्यार्थीहरुमा पनि यस्ता कार्यक्रमले साहित्यिक सचेतनाको विकास गर्छ र समाज रुपान्तरणमा टेवा पुग्छ । कविता लेखन तथा वाचन कार्यक्रमको आयोजनाले नेपाली साहित्यको प्रवद्र्धन हुने उहाँको भनाई छ ।
प्रतियोगितामा धेरैजसो वालिङ स्थित विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ३४ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा फिस्टेल एकेडेमी पोखराकि सदिक्षा रानाभाटले प्रथम स्थान हासिल गरिन् भने गल्याङ ११ कि बसन्ती अधिकारीले द्वितीय भइन् । यसैगरी भीरकोट २ कि समिक्षा राना तृतीय र गल्याङ २ का दिपक तिवारी तथा पाल्पा रामपुरका विनिता पाठकले सान्त्वना स्थान हाँसिल गरे । कार्यक्रममा विभिन्न स्थान हाँसिल गर्नेहरुले नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा भेषजराज साहित्य प्रतिष्ठानको काव्य विमर्श एवम् नियमित रचना वाचनको ६२ औं शृङ्खला अन्तरगत कवि तथा साहित्यकारहरुले आ—आफ्ना सिर्जना वाचन गरेका थिए । प्रतियोगिताका लागि प्रथम पुरस्कार प्रायोजन शैक्षिक पोशाक बगैंचाले र द्वितीय पुरस्कारको प्रायोजन पूर्णामृत भवानी माविले गरेको थियो । यसैगरी तृतीय पुरस्कारको प्रायोजन पीसजोन इन्टिग्रेटेड एजुकेशन एकेडेमीले र सान्त्वना सिद्धार्थ डेण्टल क्लिनिक वालिङले गरेको थियो ।