समाचार
स्याङ्जाको गल्याङमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
रेडियो आँधीखोला
वालिङ, ३० असार ।
स्याङ्जाको गल्याङमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करदाता सेवा कार्यालय स्याङ्जाको आयोजनामा गल्याङबजारका व्यापारी, व्यवसायी तथा उद्यमीहरुका लागि करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । गल्याङ उद्योग वाणिज्य संघ र गल्याङ चेम्बर अफ कमर्सको समन्वयमा भएको कार्यक्रममा
करदाता सेवा कार्यालय, पुतलीबजार स्याङ्जाका प्रमुख शोभाकान्त पङ्गेनीले सहजिकरण गर्नुभएको थियो । सो क्रममा उहाँले करलाई सामान्य रुपमा बुझेर नियमित रुपमा समयमा नै कर चुक्ता गरी अनावश्यक जरिवाना र व्याजबाट बच्न आग्रह गर्नुभयो । पङ्गेनीले आफ्नो व्यवसायको हिसाबकिताब चुस्त दुरुस्त राख्न गर्नुपर्ने कामका बारेमा जानकारी दिदै आयकर जोगाउन खोज्दा उल्टै जरिवाना र व्याज लाग्ने बताउनुभयो ।
उहाँले आयकरका किसीमहरु, मुल्य अभिबृद्धि कर, अन्तशुल्क कर लगायतका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष ध्रुब श्रेष्ठले करबारे नजान्दा धेरै व्यवसायीहरु मिसम्याचमा परेको भन्दै आवश्यक जानकारी लिन आग्रह गर्नुभयो । गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले नियतबश भन्दा पनि नजानेर नै धेरै व्यवसायीहरु मर्कामा परेको बताउनुभयो ।
कार्यक्रम संयोजक तथा गल्याङ चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाटले गल्याङ नगरपालिका भित्रका व्यापारी व्यवसायीहरुलाई करबारे सचेत गराउन कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । गल्याङ उद्योग वाणिज्य संघका महासचिव उमा श्रेष्ठले प्रत्येक व्यापारी, व्यवसायीलाई करबारे अझै धेरै स्पष्ट पार्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।र्
स्वच्छिक सहभागिता सहितको फराकिलो कराधार, दिगो र उत्पादन मुखी अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ गल्याङ नेवा समाजको हलमा भएको कार्यक्रममा व्यापारी व्यवसायीहरुले करका विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।