समाचार
मेड्पा अन्र्तगत भिरकोटमा कृषकहरुलाई मौरी गोलासहितको घार वितरण
रेडियो आँधीखोला
वालिङ, १ साउन ।
भीरकोट नगरपालिकामा गरिवि निवारणका लागी लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्र्तगत मौरी गोलासहितको घार वितरण गरिएको छ । यसअघि व्यवसायीक मौरी पालन तालिममा सहभागि भएका २८ जना कृषकहरुलाई मौरीगोलासहितको घार वितरण गरिएको हो ।
भीरकोट ७ को कोल्डाँडामा गरिएको मौरीगोला सहितको घार वितरण गर्दै भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले भीरकोटलाई उद्यमीहरुको नगरका रुपमा विकास गरी नगरलाई आवश्यक वस्तुहरुमा आत्मनिर्भर बनाउनका लागी नगरपालिका प्रतिवद्ध भएर लागिपरेको बताउनुभयो । साथै प्रमुख कर्माचार्यले व्यवसायिक रुपमा कृषि तथा पशुपालनमा लाग्न चाहाने नगरबासीलाई नगरपालिकाले सहयोग गर्ने भन्दै उद्यमी भएर आर्थिक उर्पाजनमा लाग्न आग्रह गर्नुभयो । मौरी व्यवसायलाई धेरै लगानी र समय आवश्यक नपर्ने भएकाले समय व्यवस्थापन गरी मौरी पालनमा लागेमा आर्थिक उर्पाजनका लागी वैदेशिक रोजगारीमा जान नपर्ने नगर प्रमुख कर्माचार्यले बताउनुभयो ।
१० हजार पर्ने मौरीगोला सहितको घारमा नगरपालिकाले ८० प्रतिशत र कृषकको २० प्रतिशत लागत साझेदारीमा वितरण गरेको हो । १० हजारको घारलाई कृषकले २ हजार रुपैँया दिएर लगेका छन् । कार्यक्रम वडा अध्यक्ष ताराप्रसाद अर्यालकोे अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन मेडपा सहजकर्ता गोमा तिवारीले गर्नुभएको नगरप्रमुखका स्वकिय सचिव आयुष पौडेलले जानकारी दिनुभयो ।