समाचार
भिरकोटमा शिक्षकहरुलाई विशिष्टीकरण तालिका तथा परिवर्तित पाठ्यक्रम सम्बन्धी प्रशिक्षण
रेडियो आँधीखोला
वालिङ, २ साउन ।
स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. ५ स्थित जनप्रिय माध्यमिक विद्यालय सिम्लेमा विशिष्टीकरण तालिका तथा परिवर्तित पाठ्यक्रम सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले गणित, विज्ञान र अंगे्रजी विषय शिक्षकहरुका लागी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
नगरपालिकाभित्रका विभिन्न विद्यालयका विज्ञान, गणित र अगं्रेजी विषय अध्यापन गराउने शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले अव हरेक शुक्रबार विद्यालयमा अतिरिक्त शिक्षण क्रियाकलाप गरी विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउने योजनाका साथ नगरपालिका लागि परेको बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागी समयअनुकुल शिक्षकहरुलाई तालिम तथा अन्य व्यवस्थापन नगरपालिकाले गर्ने भन्दै शैक्षिक गुणस्तरमा नगरप्रमुख कर्माचार्यले जोड दिनुभयो ।
कार्यक्रममा शिक्षा साखाप्रमुख विष्णुप्रसद कोईराला, वडा अध्यक्ष सुवेदार कृष्णबहादुर थापा, विद्यालय निरिक्षक नविन थापालगायतले बोल्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगनाथ अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार खांणले गर्नुभएको थियो भने संचालन विद्यालयका शिक्षक कृष्णप्रसाद पौडेलले गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा विज्ञान विषयको तिलकप्रसाद पराजुली, अंगे्रजी विषयको दिपक लम्साल र गणित विषयको नवराज पौडेलले प्रशिक्षण प्रदान गर्नुभएको थियो। विशिष्टीकरण तालिकाको प्रयोग गरेर प्रश्नपत्र कसरी निर्माण गर्ने, विद्यार्थीलाई सहज रुपमा शिक्षण विधि कसरी गर्नेलगायतका विषयमा सहजीकरण गरिएको थियो । कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो ।