अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

स्याङजामा पोषिलो खाना कार्यक्रम प्रभावकारी बन्दै, सुत्केरी आमा लाभान्वित

news

 
रेडियो आँधीखोला 
वालिङ, २ साउन ।
सुत्केरी आमालाई पोषिलो खाना कार्यक्रम अन्तर्गत स्याङ्जामा सात सय ४८ जना सुत्केरी आमा लाभान्वित भएका छन् । जिल्लाभित्र तथा जिल्ला बाहिरका स्वास्थ्य संस्थाबाट सुत्केरी भएका आमालाई पोषिलो खाना कार्यक्रम अन्तर्गत जनही रु. नौ हजार उपलब्ध गराईएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले बताउनुभयो ।
 
अति विपन्न, दलित, अपाङ्ग र लोपोन्मुख समुदायका सुत्केरी आमा र बच्चाहरु कुपोषणको जोखिममा हुने संभावना प्रवल हुने हुँदा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पोखराले उक्त कार्यक्रम सञ्चालन गरेको हो । आमा तथा बालबालिकाको पोषण सुधार गर्न सुत्केरी भएको ४५ औं दिनसम्म पोषिलो खानाकालागि पोषण उपलब्ध गराई उनीहरुको पोषण अवस्थामा सुधार गरी स्वास्थ्य अवस्थालाई सुदृढ गराउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
 
“लक्षित समूहका सुत्केरी महिलाहरुले दिनको रु. दुई सयका दरले ४५ दिनको एकमुष्ट रु. नौ हजार उपलब्ध गराउँछौं” उहाँले भन्नुभयो, “उक्त कार्यक्रम सञ्चालन गर्न मन्त्रालयबाट स्याङ्जामा रु. पन्चानब्बे लाख रकम विनियोजन भएको थियो ।” सुत्केरी आमाको नाममा नागरिकता नहुनु, आफ्नै बैंक खाता नहुनु, परिचय खुल्ने कागजातहरु नहुनु लगायतका कारणले गर्दा सेवा लिनबाट बञ्चित भएका उहाँले बताउनुभयो ।
 
“मन्त्रालयबाट स्याङ्जामा रु. ९५ लाख बजेट विनियोजन भएकोमा रु. ६७ लाख ३२ हजार लक्षित लाभग्राहीलाई उपलब्ध गरायौं” उहाँले भन्नुभयो, “आवश्यक कागजातहरु नहुनु, नागरिकता प्राप्त नगर्नु, सुत्केरी आमाको नाममा बैंक खाता नहुनु लगायतका कारणले विनियोजन भएको बजेट पूरै खर्च हुन सकेन ।” भुक्तानी लिन सम्बन्धित वडा कार्यालयबाट लक्षित वर्ग अन्तर्गत पर्ने भनी गरिएको सिफारिस, ब्यक्तिको परिचय खुल्ने कागजात, जन्म प्रमाणपत्र, सुत्केरी महिलाको नाममा खोलिएको बैंक खाताको चेकको प्रतिलिपि लगायतका कागजातहरु आवश्यक पर्ने उहाँले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...