समाचार
जिल्ला अस्पताल स्याङ्जामा मेडिकल सुपरिटेन्डेन्ट मेसुविहीन भएको १० महिना
रेडियो आँधीखोला
वालिङ, ३ साउन ।
जिल्ला अस्पताल स्याङ्जामा मेडिकल सुपरिटेन्डेन्ट मेसुविहीन भएको १० महिना भएको छ । गएको कात्तिकमै मेडिकल सुपरिटेन्डेन्ट डा.रमेश आचार्यको लमजुङ सरुवा भएपछि अस्पताल प्रमुखविहीन बनेको हो । अहिले वरिष्ठ स्टाफ नर्स कृष्ण कार्कीले निमित्त प्रमुखका रूपमा काम गरिरहनु भएको छ । झण्डै ‘वर्ष दिन पुग्न लाग्दासम्म अस्पतालले प्रमुख नपठाउँदा यहाँबाट उपलब्ध सेवा सुविधा र अस्पताल व्यवस्थापनमा समेत नराम्ररी प्रभाव परेको छ’अस्पताल विकास समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले भन्नुभयो ।
अस्पताल प्रमुख र ३ जना मेडिकल अफिसरसहित २५ जनाको स्थायी दरबन्दी हो । प्रदेश र अस्पताल व्यवस्थापन समितिसहित गरी यहाँ ७८ जना कार्यरत रहेकोमा असार मसान्तसँगै प्रदेश अन्तर्गतका १६ जना करारमा सेवारत कर्मचारीको समेत म्याद सकिएको छ । अहिले अस्पताल प्रमुखसहित १७ जना स्वास्थ्यकर्मीविहीन बनेको छ । अध्यक्ष गोदारले भन्नुभयो ‘अस्पतालका लागि आवश्यक भएरै राखिएका प्रदेश अन्तर्गतका १६ जना करारका कर्मचारी सेवाका निरन्तरता वा नयाँ प्रक्रियाबाट कर्मचारी उपलब्ध गराउन समेत प्रदेश सरकारसँग अनुरोध गरेका छौं।’
पुतलीबजार नगरपालिका ३ अर्थात जिल्ला सदरमुकाम नजिक रहेको अस्पतालले पछिल्लो समय गुणस्तरीय सेवा उपलब्ध गराएको छ । बहिरंग, शल्यक्रिया, मृर्गौला डायलायसिस, मातृशिशु तथा प्रसूति सेवा, आँखा, दाँत, भिडियो एक्सरे अर्थात् रेडियोलोजी, स्वास्थ्य बिमा, अपांगता सहायता कक्ष र एकद्वार संकट व्यवस्थापन र चौविसै घण्टा आकस्मिक सुविधा लगायतका सेवा उपलब्ध गराउँदै आएको निमित्त प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो ।