समाचार
सहकारीबाट लिएको ऋण तिर्न पालिकाहरुको सहजीकरण
रेडियो आँधीखोला
वालिङ, ५ साउन ।
स्याङ्जाका पालिकाहरुले आफ्नो क्षेत्रभित्र रहेका सहकारीबाट ऋण लगेर नतिरेकालाई तिर्न ताकेता गरेको छ । जिल्लाको वालिङ र भीरकोट नगरपालिकाले सूचना नै निकालेर ऋणि सदस्यहरुलाई ऋण चुक्ता गर्न अनुरोध गरेको हो ।
वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माद्धारा जारी सूचनामा सहकारी संस्थाबाट ऋण लिई तोकिएको समयभित्र ऋणको साँवा, व्याज चुक्ता गर्न पटक पटक ताकेता गर्दा पनि अटेर गरेको भन्दै आँफूले लिएको ऋणको साँवा व्याज चुक्ता गर्न अनुरोध गरिएको छ । ऋणिहरुले साँवा व्याज चुक्त नगरेका कारण सहकारी संस्थाहरुमा सदस्यतको बचत फिर्ता गर्न समस्या परेको भन्दै ऋण असुलीमा सहजीकरण गरिदिन सहकारीहरुले अनुरोध गरेकाले नगरपालिकाले सूचना नै निकालेर यस्तो आग्रह गरेको हो ।
ऋण तिर्न नपर्ने, वा नतिर्ने भन्ने जस्ता गैर जिम्मेवार अभिव्यक्तिहरु पनि आएकाले कोही कसैले आँफूले लिएको ऋण तिर्न नपर्ने कल्पना गरेको भए त्यो आँफैमा प्रत्युत्पादक हुने र त्यस्ता गतिविधि नियन्त्तण गर्न हदै सम्मको कठोर कदम समेत चालिने भन्दै नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र सहकारी संस्थाहरुको सम्पुर्ण ऋणि सदस्यहरुलाई समयमै आफूले लिएको ऋणको साँवा व्याज भुक्तानी गर्न नगरपालिकाले आग्रह गरेको हो ।
उता भीरकोट नगरपालिकाले सहकारीका ऋणि सदस्यहरुलाई आँफुले लिएको ऋणको सावाँ व्याज भुक्तानी गर्न ताकेता गरेको छ । नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाद्धारा जारी सूचनामा सहकारीबाट ऋण लगेका सहकारी संस्थाका ऋणी सदस्यहरूले आफ्नो संस्थामा सम्पर्क गरी नियमानुसार भक्तानी गर्न अनुरोध गरिएको छ ।
सहकारीबाट ऋण लिई नियमित रूपमा किस्ता नबुझाउने, म्यादभित्र ऋणको साँवाब्याज नबुझाउने ऋणीले आफ्नो संस्थाको सम्पर्कमा आई ऋण तिर्ने बुझाउन, सञ्चालक समितिसँग आवश्यक छलफल गर्न आग्रह गर्दै आफूले लिएको ऋणको किस्ता नियमित गनर्,े ऋणको साँवाब्याज तोकिएको म्यादभित्र बुझाई आफू जस्तै अन्य सदस्यहरूको बचत रकम फिर्तामा सहयोग गरी आफ्ना सहकारी संस्थालाई समस्याग्रस्त हुनबाट बचाउन नगरपालिकाले अनुरोध गरेको हो ।