समाचार
गायिका गैह्रेले बालगृहमा मनाइन जन्मदिन
रेडियो आँधीखोला
वालिङ, ७ साउन ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जा शाखाकी कोषाध्यक्ष कमला गैह्रेले आफ्नो जन्मदिन बाल गृहमा मनाउनु भएको छ । कास्कीको पोखरालाई कर्मक्षेत्र बनाउनुभएकि लोकदोहोरी गायिका गैह्रेले स्याङ्जाको फेदिखोलास्थित अमोर सेवा बालगृहमा शनिबार आफ्नो जन्मदिन मनाउनु भएको हो ।
विगतका वर्षमा अन्य स्थानमा मनाए पनि यस पटक आफ्नै जिल्लामा सञ्चालित बालगृहमा जन्मदिन मनाएको कलाकार गैह्रेले बताउनुभयो । आँफू सानैदेखि आमाको मायाबाट बञ्चित भएको हुँदा पनि बालगृहमा आएर जन्मदिन मनाउने सोँच बनाएको उहाँले बताउनुभयो ।
गैह्रेले बालगृहका लागी बालगृहकि अध्यक्ष कमला पराजुलीलाई नगद रु.१३ हजार ३ सय ५ प्रदान गर्नुभयो । यसैगरी फेदिखोला २, स्थानचौरका २ वर्षीय बालक आहान पौडेलको जन्मदिनका अवसरमा उहांका अभिभावकहरुले रु. ५ हजार बराबरको दैनिक उपभोग्य सामग्री प्रदान गरेका छन् । फेदिखोला गाउँपालिका वडा नम्वर १ कटुजेस्वाँरास्थित यो बालगृहमा स्याङ्जासहित पर्वत, रुकुम र मुगुका गरी ३० जना बालबालिका छन् ।
उनिहरुको पढाई लेखाईसहित सम्पूर्ण लालनपालनको काम बालगृहले गर्दै आएको छ । यो बालगृहमा नर्सरीदेखि स्नातकतहमा अध्ययन गर्ने बालबालिका छन् । बालगृह सञ्चालनमा कुनै एनजियो, आइएनजियोको सहयोग नलिएको भन्दै एनजियो, आइएनजियोले सर्तमा सहयोग गर्ने बुझेपछि उचित नठानेको अध्यक्ष पराजुलीले बताउनुभयो ।
यसैगरी विभिन्न व्यक्ति, संघ संस्थाहरुको सहयोगमा अमोरसेवा चलिरहेको उहाँले बताउनुभयो । यस अवसरमा कलाकार गैह्रे र जगत गौंडेलले गाएको गीतमा बालबालिकाहरु खुसियाली मनाउदै नाचेका थिए ।