समाचार
बृक्षारोपण अभियानमा ४ हजार विरुवाहरु रोपण गरियो
रेडियो आँधीखोला
वालिङ, ७ साउन ।
‘बृक्षा रोपण गरौ, पानीको मुल जोगाऔं’, ‘हामी सबै बाचौं र सबै प्राणी बचाऔं’ भन्ने मुल नाराका साथ नयाँ आर्थिक बर्ष २०८०÷०८१ को शुभारम्भ सगै राष्ट्रिय संकल्प अभियानले शुरु गरेको बृक्षारोपण अन्र्तगत स्याङ्जामा अहिलेसम्म ४ हजार विरुवाहरु रोपण गरिएको छ । संकल्प अभियानका अभियन्ता दुर्गादत्त भुषालका अनुसार साउन १ गतेबाट शुरु गरिएको बृक्षारोपण कार्यक्रममा अहिलेसम्म उक्ता संख्यामा बृक्षारोपण गरिएको हो ।
जिल्लाका ९७ वटा वडामा माटो अनुसारको १ लाख भन्दा बढि विरुवा रोपण गर्ने उद्देश्य अनुसार हरेक दिन फरक फरक स्थानमा वृक्षारोपण गरिएको अभियन्ता भुषालले बताउनुभयो । शनिबार भीरकोट ८ को राधाकृष्ण मन्दिर मोहनडाँडा र भीरकाट २ को भुपूसैनिक मावि परिसरमा गुल्मोहर, कोईराललगायतका फुलका विरुवाहरु तथा वर, पिपल प्रजातिका विरुवाहरु रोपण गरिएकोह हो ।
वातावरण प्रतिकुल बन्दै जाँदा खानेपानीका मुहान सुक्ने, बाढीपहिरो बढेको र बाँदर आतङकले गाउँबस्ती बसाई सर्न बाध्य भएको जस्ता कठिनाई मानवले भोग्न परेकाले बृक्षारोपण अभियान शुरु गरिएको अभियान्ता भुसालले जानकारी दिनुभयो ।
झण्डै दुईदर्जन भन्दा बढी प्रजातिका विरुवाहरु बृक्षारोपण गरिने बताइएको छ । अम्बा, टिमुर, अमला, लब्सी, आरु लगायत बाँदरका लागि र बाढीपहिरो रोक्न बाँस, अम्रिसो, सल्लो, उत्तिस, सिसौ लगायत झण्डै दुईदर्जन प्रजातिका बिरुवाहरु लगाईने छ । यो अभियानलाई सबै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न सामाजिक संघसंस्था लगायत सबै स्याङ्जावासीले यस कार्यमा सहयोग गर्न अभियान्ता भुसालले अनुरोध गर्नुभयो ।