समाचार
दलित समुदायको परम्परागत कला तथा सिप विकास संस्था वालिङको दोस्रो साधारण सभा
रेडियो आँधीखोला
वालिङ, १३ साउन ।
दलित समुदायको परम्परागत कला तथा सिप विकास संस्था वालिङको दोस्रो साधारण सभा तथा कर र राजस्व सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वालिङ उद्योग वाणिज्य संघको सहयोगमा दलित समुदायको परम्परागत सिप एवं कला विकास संस्थाको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वालिङ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष एवं नगरप्रवक्ता पदमराज गुरुङले परम्परागत सिप र व्यवसायको संरक्षण तथा प्रर्वद्धनको लागी नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
विषेश गरी दलित समुदायको परम्परागत सिप तथा व्यवसायलाई आधुनिकीकरण गरी आर्थिक उत्थानका लागी नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आएको प्रवक्ता गुरुङको भनाई छ । वालिङ स्थित दलित, जनजाति, विपन्न, पिछडिएका समुदाय र वर्गहरुलाई आर्थिक रुपमा सबल बनाउनका लागी आवश्यक तालिम, प्राविधिक तथा आर्थिक सहयोग नगरपालिकाले गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ वालिङका अध्यक्ष चेतनारायण श्रेष्ठले वालिङका व्यापारी, व्यवसायीहरुको हितका लागी वाणिज्य संघले नगरपालिकासंग समन्वय गर्दै अगाडिबढ्ने बताउनुभयो । परम्परागत पेशा व्यवसाय गर्ने व्यवसायीहरुका लागी कर तथा राजस्व सम्बन्धी आधारभुत तालिम समेत प्रदान गरिएको हो । तालिममा कुशल पाण्डेले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष लिलबहादुर रनपालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव प्रविन परियार र स्वागत संगिता नेपालीले गर्नुभएको थियो ।