समाचार
स्याङ्जामा सम्बन्धविच्छेदका मुद्दा बढ्दै
रेडियो आँधीखोला
वालिङ, १७ साउन ।
स्याङ्जामा अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अदालत स्याङ्जामा दर्ता भएका मुद्धाहरु मध्ये अन्यको तुलनामा सम्बन्धविच्छेदका मुद्दा बढेका छन् । आर्थिक वर्ष २०७९–८० मा १ हजार ३५४ मुद्दा मध्ये ५३५ सम्बन्धविच्छेदका मुद्धा रहेका छन्।
जिल्ला अदालत स्याङ्जाका नासु शोभाकान्त पौडेलका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेको ४३६ र नयाँ ९१८ गरी १ हजार ३५४ मध्ये ९५१ मुद्धाहरु फस्र्यौट भएका छन् । ति मध्ये चालु आर्थिक वर्ष २०८०÷८१ को लागी ४०३ मुद्दाहरु जिम्मेवारी सरेर आएको छ । सम्बन्ध बिच्छेदका कुल ५३५ मुद्दा मध्ये ४५४ फस्र्यौट भएका छन् भने ८१ मुद्दा चालु आर्थिक वर्षका लागी जिम्मेवारी सरेको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा ३९७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुँदा गत आर्थिक वर्षमा ४४५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको थियो । यसरी अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्ष ४८ ले सम्बन्ध विच्छेदका मुद्दा दर्ता धेरै भएका छन् । गत आर्थिक वर्षबाट चालु आर्थिक वर्षमा सम्बन्ध विच्छेदका ८१ मुद्दा जिम्मेवारी सरेको जिल्ला अदालतले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ६४ सम्बन्ध विच्छेदका मुद्दा जिम्मेवारी सरेर आएको थियो ।
वैदेशिक रोजगार, घर¥यासी आर्थिक मामिला, लागु पदार्थको प्रयोग र अन्य पारिवारिक समस्याका कारण पछिल्ला समयमा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै गएको देखिएको छ ।