समाचार
स्याङ्जामा आर्थिक मन्दीका कारण व्यवसायीक फर्महरु बन्द हुने क्रम बढे
रेडियो आँधीखोला
वालिङ, २२ साउन ।
आर्थिक मन्दीका कारण स्याङ्जामा व्यवसायिक फर्महरु बन्द हुने क्रम बढेको छ । स्याङ्जामा गत आर्थिक वर्षमा २६३ फर्महरु बन्द भएका छन् । पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका अनुसार जिल्लामा अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्ष २०७९÷०८० मा धेरै व्यवसायीक फर्महरु बन्द भएका हुन् । अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा ८९ फर्महरु बन्द भएका थिए । गत आर्थिक वर्षमा बन्द हुने फर्महरुमा कृषि तथा पशुपंक्षी तथा व्यापारीक फर्महरु रहेका छन् । पछिल्लो समय फेन्सी तथा कष्मेटिक पसलहरु पनि बन्द गराउने बढेका छन् ।
गत आर्थिक वर्षमा झण्डै ८ सय नयाँ उद्योग थपिएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षमा भन्द निकै कम हो । आर्थिक वर्ष २०७९÷०८० मा पर्यटन तथा उद्योग कार्यालय स्याङ्जामा ७९८ उद्योग दर्ता भएका छन् । दर्ता हुनेमा उद्योग र वाणिज्य गरी दुई थरीका उद्योगहरु रहेका छन् । उद्योग दर्तामा ५२६ र वाणिज्यमा २७२ उद्योग दर्ता भएका छन् ।
उद्योग तर्फ उत्पादनमुलक उद्योग २१, कृषि तथा पशुपंक्षी फर्म ३४९, पर्यटन तथा होटल रेष्टुरेन्ट ७५, सूचना प्रविधि १ र सेवामुलक ८० गरी ५२६ उद्योग गत आर्थिक वर्ष दर्ता भएका थिए । त्यस्तै वाणिज्यतर्फ निजी २६७, साझेदारी ३ र प्रालि २ उद्योग दर्ता भएका कार्यालयका कम्प्युटर अपरेटर तथा योजना साखा प्रमुख कृष्ण लम्सालले जानकारी दिनुभयो । यसरी उद्योग दर्ताबाट कार्यालयले गत आर्थिक वर्षमा ५१ लाख ८६ हजार ४९७ रुपैँया राजस्व संकलन गरेको छ भने गत वर्ष कार्यालयले ७ पटक बजार अनगमनको कार्यक्रमहरु गरेका कार्यालयका अपरेटर लम्सालले बताउनुभयो ।
कार्यालयमा अघिल्लो आर्थिक वर्षमा ८९४ उद्योग र ६८४ वाणिज्य फर्महरु दर्ता भएका थिए । यसरी १ हजार ५७८ उद्योगहरु दर्ता हुँदा ७० लाख ४ हजार ३४५ रुपैँया राजस्व संकलन भएको थियो । यसरी अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा उद्योग तथा फर्महरु दर्ता हुने क्रम तुलनात्मक रुपमा घटेको छन् । उद्योग दर्ता क्रम घट्नुमा आर्थिक तरलता, युवाहरु बैदेशिक रोजगारीमा आर्कषित हुनु मुख्य कारण रहेको कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकालले बताउनुभयो ।
ढकालले भन्नुभयो, “मुख्य त उद्योग दर्ता कम हुनुको कारण आर्थिक मन्दी नै हो । आर्थिक मन्दीका कारण देशभरी नै फर्म बन्द गर्नेको संख्या बढी छ भने नयाँ फर्म तथा व्यवसाय गर्ने घटेका छन् । स्याङ्जामा पनि बन्द गर्ने बढेका छन् ।” प्रदेश सरकारले उद्योग व्यवसाय धरासयी बन्दै जाँदा राहतको प्याकेजका कार्यक्रमहरु ल्याएमा राहत हुने कार्यालय प्रमुख ढकालको भनाई छ । आर्थिक मन्दीका कारण व्यापार घाटा सहनु भन्दा फर्म नै बन्द गर्न थालेका छन् । घरेलु तथा साना उद्योगको विकासले नै देशको समृद्धि हुने भएकाले यसका लागी तिनै तहका सरकार मिलेर उचित कदम चाल्नुपर्ने देखिन्छ ।