अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

गल्याङ जिल्लामा नै सबैभन्दा बढि योजना सम्पन्न गर्ने नगरपालिका बन्न सफल

news

 
रेडियो आँधीखोला
वालिङ, ३२ साउन ।
स्याङ्जाको गल्याङ नगरपालिका जिल्लामा नै सबैभन्दा बढि योजना सम्पन्न गर्ने नगरपालिका बन्न सफल भएको छ । नगरपालिकाले बुधबार गल्याङ नगरपालिकाको सिटीहलमा गरेको वार्षिक समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले सबैभन्दा धेरै योजना सम्पन्न गर्नेमा स्याङ्जा जिल्लामा नै गल्याङ नगरपालिका पहिलो रहेको जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष २०७९÷८० मा सम्झौता भएका छ सय ३१ वटा उपभोक्ता समिति मार्फत सञ्चालन भएका योजना मध्ये छ सय १२ वटा योजना सम्पन्न भएको जानकारी दिनुभयो ।
 
शर्माले कुल रकमको ८९ प्रतिशत खर्च गर्ने गल्याङ नगरपालिका नै जिल्लामा एकमात्र रहेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यसपछि बढि खर्च गरेको वालिङ नगरपालिकाले गत आर्थिक वर्षमा ८० प्रतिशत मात्रै खर्च गरेको छ । प्रमुख प्रशासकीय अधिकृत शर्माले २१ वटा ठेक्का सम्झौता भएका योजनाहरु मध्ये १६ वटा योजना सम्पन्न भएको र पाँच वटा सञ्चालनको क्रममा रहेको जानकारी दिनुभयो ।
 
वार्षिक समिक्षा कार्यक्रममा पेश भएको विवरण अनुसार गल्याङ नगरपालिकाको वडा नम्बर १ र २ मा ५३÷५३ वटा र वडा नम्बर ३ मा ५१ वटा गरी सम्झौता भएका सबै योजना सम्पन्न भएका छन् । वडा नम्बर ४ मा ४५ वटा मध्ये ४३ वटा योजना सम्पन्न भएका छन् भने वडा नम्बर ५ मा ५१ वटा योजना मध्ये ४७ वटा योजना सम्पन्न भएका छन् ।
 
यस्तै, वडा नम्बर छ मा सबै ५२ वटै योजना सम्पन्न हुँदा वडा नम्बर सात मा ५६ योजना मध्ये ५३ योजना सम्पन्न भएका छन् । वडा नम्बर ८ मा ४७ योजना मध्ये ४४ योजना सम्पन्न भएका छन् । गल्याङ नगरपालिकामा नै सबैभन्दा धेरै ७८ योजना रहेको वडा नम्बर ९ मा ७८ वटै योजना सम्पन्न भएका छन् । वडा नम्बर १० मा ७१ योजना मध्ये ६४ योजना सम्पन्न हुँदा वडा नम्बर ११ मा सम्झौता भएका सबै ७४ वटै योजना सम्पन्न भएका छन् ।
 
वार्षिक समिक्षा कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले प्राप्त उपलब्धीलाई आधार मानेर अझ बढि जनताको सेवामा लाग्न आग्रह गर्नुभयो । उहाँले भएका स्रोत साधान र जनशक्तिको अधिकतम प्रयोग गरि स्थानीयको आवश्यकतालाई केन्द्रमा राख्न आग्रह गर्नुभयो । नगरप्रमुख भट्टराईले सेवाग्राहीको गुनासो नआउने गरी काम गर्न पनि कर्मचारीलाई निर्देशन दिनुभयो ।
 
नगर उपप्रमुख हेमा न्यौपानेले राम्रो नतिजा निकाल्न सबैभन्दा बढि भूमिका कर्मचारीको हुने भन्दै आफ्नो काममा अझै बढि दत्तचित्त भएर लाग्न आह्वान गर्नुभयो । नगरपालिकाले गरेका सकारात्मक कामहरुलाई अझै बढाउँदै जानुपर्ने उहाँको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले वडामा धेरै योजना बनाउन भन्दा पनि देखिने र परिणाम दिने खालका थोरै योजना बनाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
 
कार्यक्रममा ११ वटै वडाका सचिवहरु तथा गल्याङ नगरपालिकाका सबै शाखाबाट वार्षिक प्रगति प्रतिबेदन पेश गरिएको थियो । प्रतिबेदन प्रस्तुतिका क्रममा कर्मचारीलाई आवश्यक तालिम, रिक्त कर्मचारीको पदपूर्ति, प्रदेश र संघका योजनाको बारेमा बेलैमा जानकारी गराउनुपर्ने, स्थानीयलाई नगरपालिकाप्रति बढ्दो परनिर्भरता कम गर्नुपर्ने, अनुदानमुखी कार्यक्रम कम गर्नुपर्ने, कृषि फम नविकरणमा सचेत गराउनुपर्ने, बाँदरको समस्या समाधानमा पहल लिनुपर्ने लगायतका सुझाब पनि दिइएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...