अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

प्रचारप्रसारको अभावले ओझेलमा वालिङ ७ को ताप्के डाँडा

news

 
रेडियो आँधीखोला
वालिङ, ३२ साउन ।
स्याङ्जामा ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रुपमा बिकास गर्न सकिने धेरै स्थान भएपनि उचित प्रचार प्रसार र प्रवद्र्धन हुन नसक्दा ओझेलमा परेका छन् । यस्तै स्थानमध्ये वालिङ नगरपालिका वडा नम्बर ७ केवरेको ताप्के डाँडा र बालतपस सिद्धबाबा मन्दिर पनि एक हो । ताप्केको सुन्दर र हरियाली डाँडा अनि ऐतिहासिक मन्दिर परिसर वालिङ नगरपालिकाको आकर्षक गन्तव्य बन्ने त्यहाँ पुगेपछि महसुस गराउँछ । 
 
सम्बन्धित निकायको नजर नपुग्दा र प्रचार प्रसार तथा थप व्यवस्थापन हुन नसक्दा ताप्केडाँडा ओझेलमा परेको छ । ताप्केडाँडामा रहेको सिद्धबाबा मन्दिर बिना छानोको रहेको छ । सयौंवर्ष पहिले खुला आकाशमुनि बालकले तपस्या गरेका हुनाले बिना छानोको मन्दिर बनाइएको स्थानीयहरुको भनाई छ । बिना छानोको बाल तपस सिद्धबाबा मन्दिर जङ्गलको बीचमा रहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङको  मिर्दीदेखि एघार.किलोमिटर पूर्वमा रहेको यो मन्दिरमा पूजाआजाका साथै ध्यान, तपस्या गरिंदै आइएको छ । 
 
केवंरे भञ्ज्याङबाट ढेड किलोमिटर ग्रामिण सडकदेखि करिव पाँचसय मिटर उकालो चढेपछि मन्दिर परिसरमा पुगिन्छ । वडाको पहल र प्रदेश सरकारको सानो सहयोगबाट निर्मित सिँढी सहितको पैदल बाटोले मन्दिरसम्म पुग्नका लागि सहज बनाइएको छ ।
स्थानीय समाजसेवी जगदिशप्रसाद रेग्मीका अनुसार २०५९ सालमा मन्दिरको पुनर्निर्माण गरिएको हो । मन्दिर पुनर्निर्माणको समयमा अत्यन्त जीर्ण अवस्थामा रहेको घण्टीको भाग भेटिएको र त्यसमा १ सय अङ्क स्पष्ट देखिएको हुँदा सयौंवर्ष पूरानो हुनसक्ने विश्वास गरिएको समाजसेवी रेग्मी बताउनुहुन्छ । 
 
यहाँ तपस्या गर्ने बालकले खुला स्थानमै गरेको र खुलारुपमा तपस्या गर्दा आनन्द र सिद्धि प्राप्ती हुने भएकाले बिना छानोको मन्दिर बनाइएको किम्बदन्ती छ । यहाँ १४ वर्षभन्दा कम उमेरका किशोर पुजारी हुने पहिलादेखिको प्रचलन हो । रेग्मीका अनुसार परापूर्वकालमा सानो बालकले तपस्या गरेर सिद्धि प्राप्त गरेको हुनाले बाल तपस सिद्धबाबा मन्दिर भनिएको हो ।
 
यहाँ आएर ध्यान एवम् तपस्या गरेपछि मनमा आनन्द र शान्ति मिल्नुका साथै आप्mना मनोकामना पूराहुने जनविश्वास छ । यो मन्दिरदेखि करिब सय मिटर तल चण्डीथान छ । यहाँ अन्य मन्दिर वा थानहरुमा झैं पूजा भने गरिदैन । आउने वर्ष राम्रो नराम्रो कस्तो रहन्छ भनी परीक्षण गर्न यहाँ कुखुराको काँचो अण्डा राख्ने प्रचलन छ । सानो थानको बीचमा राखिएको ढुङ्गामुनि कुखुराको एउटा काँचो अण्डा राखिन्छ । 
 
साउन महिनामा राखेको अण्डा कस्तो अबस्थामा छ भनी आउने जेठ महिनामा हेरिन्छ । माटोले पुरेर राखेको अण्डा जस्ताको तस्तै रह्यो भने त्यो वर्ष त्यति राम्रो नहुने, अशुभ तथा अनिष्ट हुने र यदि फुटेर फिजारिएको रहेछ भने समयमा पानी पर्ने, अन्नपात राम्रो हुने वा शुभहुने जनविश्वास छ ।
 
यहाँको रमणीय वातावरणबाट हिमदृष्य तथा विहानी सूर्योदयको दृष्यावलोकन निकै आकर्षक देखिन्छ । यसकासाथै कालीगण्डकीको तटीय क्षेत्र स्याङ्जाको चापाकोट, साँखर फाँट, केलादीघाट, पूर्वी पाल्पाको रामपुरलगायतको अवलोकन गर्न सकिन्छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...