समाचार
पुतलीबजारको काजिमानमा हेनराइटिङ प्रतियोगिताः खुसी पौडेल प्रथम
वालिङ, १० भाद्र ।
काजिमान हरिटीका माध्यमिक विद्यालय पुतलीबजार स्याङ्जामा तहगत अक्षर लेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा ८ की खुसी पौडेल प्रथम द्वितीय कक्षा १० का समीर केसी र तृतीय कक्षा ८ कि रितिका ढकाल हुनुभएको छ ।
प्रत्येक कक्षाबाट अनि तहगत रुपमा उत्कृष्ट अक्षर लेख्ने तिन जना विद्यार्थीहरुलाई पुतलीबजार नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम बरालले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा शिक्षा साखा प्रमुख बरालले काजिमान हरिटीका माध्यमिक विद्यालयले रचनात्मक शैक्षिक क्रियाकलापमा आफूलाई उत्कृष्ट बनाइरहेको बताउनुभयो । उहाँले छोटो समयमा काजिमानले गरेको प्रगति अनुकरणीय रहेको बताउँदै व्यस्थापन तथा शिक्षकको टिमलाई बधाइ समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई.अनुप श्रेष्ठले विद्यालयमा अवसर र चुनौती दुवै रहेको भन्दै शिक्षकको कडा मिहिनेत र टिमवर्कका कारण विद्यालय परिवर्तन भइरहेको भन्दै आगामी चुनौतीहरु पनि टिमवर्कमै समाधान गरिने बताउनुभयो ।
कार्यक्रममा सदस्य चिजा गुरुङ, अभिभावक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कक्षा १० का मनिस कुमालले गर्नुभएको थियो भने सभापतिको रुपमा कक्षा ९ का विशाल ढकाल रहनुभएको थियो ।