समाचार
युवा संघ नेपाल स्याङ्जाले सामुदायिक विद्यालय तथा क्याम्पसमा हजार विरुवा रोप्ने
वालिङ, १० भाद्र ।
राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाले बृक्षारोपण अभियानलाई तिव्र पारेको छ । जिल्लाका सामुदायिक विद्यालय तथा क्याम्पसहरु परिसरमा फलफुलका विरुवाहरु रोपण गर्ने अभियानलाई तिव्रता दिईएको युवा संघले जनाएको छ । युवा संघको देशव्यापी अभियान अन्र्तगत शनिबार गल्याङ नगरपालिका वडा नं. ११ मा रहेको गलकोट माध्यमिक विद्यालय परिसरमा बृक्षारोपण गरिएको हो । एक युवा ५ फलफुलका विरुवा सामुदायिक विद्यालय परिसरमा भन्ने अभिप्रायका युवा संघले विद्यालय तथा क्याम्पस परिसरमा वृक्षारोपण गर्दै आएको छ ।
बृक्षारोपणको उद्दघाटन नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा युवा इन्चार्ज गिरमान गुरुङले गर्नुभएको हो । बृक्षारोपणको उद्दघाटन गर्दै सचिवालय सदस्य गुरुङले विद्यालय परिसरमा फलफुलका विरुवा रोपण गर्दा विद्यार्थीहरुमा व्यवहारिक ज्ञानको समेत विकास हुने बताउनुभयो । युवा संघले यस्तै रचनात्मक काममा अग्रसर हुनुपर्ने भन्दै बृक्षारोपणले वातावारणीय पर्यावरणलाई चुस्तदुरुस्त राख्न मद्दत गर्ने गुरुङले बताउनुभयो । कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य पारस सेन, पवन राना, युवा संघ गण्डकी प्रदेश सदस्य गणेश राउतलगायतले युवाहरु अव क्रियाशिल भएर युवालाई गोलबद्ध बनाउने बताउनुभयो ।
कार्यक्रममा युवा संघका जिल्ला अध्यक्ष पिताम्बर खनाल शुसिलले जिल्लाका हरेक सामुदायिक क्याम्पस तथा विद्यालयहरुमा परिसरमा १ हजार फलफुलका विरुवा रोपण गर्ने यो अभियान रहेको बताउनुभयो । आँप, लिचि, रुख कटहर, नास्पती, अम्बा, अमला, एभोकाडोलगायतका विरुवा रोपण गरिएको छ ।