समाचार
स्याङ्जा सहयोग समाज कतारद्धारा आर्थिक अवस्था कमजोर भएका दुई परिवारलाई आर्थिक सहयोग
वालिङ, १४ भाद्र ।
स्याङ्जा सहयोग समाज कतारद्धारा आर्थिक अवस्था कमजोर भएका दुई परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समाजले बुधबार एक कार्यक्रमको आयोजना गरी स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिको समन्वयमा वालिङ स्थित सार्वजानिक सौचालयमा काजकृया गरिरहेका स्व. प्रेमबहादुर परियार र वालिङ २ का स्व. राजु परियारको परिवारलाई क्रमश २५ हजार र १० हजार नगद हस्तान्तरण गरेको हो ।
वालिङमा गरिएको हस्तान्तरण कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्याल, स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकाश परियार, वालिङ ८ का वडा अध्यक्ष दामोदर तिवारी, वालिङ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष शोभाकान्त पौडेल, वडा सदस्य कविता परियार, लिलबहादुर रनपाल, सिताराम अधिकारीलगायतको सहभागिता रहेको थियो ।
विगत ४२ बर्षदेखि वालिङ मोडमा खुर्सानी, अमिलो, कागती जस्ता स्थानीय उत्पादन बेच्दै आएका प्रमेबहादुर नेपालीको गत हप्ता मृत्यु भएको थियो । आर्थिक अवस्था निकै कमजोर भएका नेपालीको परिवारले वालिङ खेलमैदानमा रहेको सार्वजनिक शौचालयको एक कोठामा काजकिरिया गरिरहेका छन् ।