समाचार
११० औं विपी जयन्तीका अवसरमा विचार गोष्ठी तथा रक्तदान
रेडियो आँधीखोला,
वालिङ २५ भाद्र ।
नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांगे्रसका संस्थापक विश्वेश्वरप्रसाद कोईरालाको ११०औँ जन्म जयन्तीको अवसरमा भीरकोटमा सरसफाई तथा विपी विचार गोष्ठी गरिएको छ । नेपाली कांगे्रस भीरकोट नगरसमितिको आयोजनामा गोडमेल तथा सरसफाई र विपि विचार विषेश गोष्ठी भीरकोट ५ को बाझाबारी सामुदायिक भवनमा सम्पन्न भएको हो । यसअगाडि विपि स्मृति दिवसका अवसरमा लगाईएका विरुवाहरुको गोडमेल तथा सरसफाई गरी विचार गोष्ठी गरिएको हो ।
कार्यक्रममा नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विपिले प्रतिवादन गर्नुभएका सिद्धान्तलाई आत्मसाथ गर्दै उहाँले मार्गनिर्देश गर्नुभएको पथमा नेपाली कांगे्रस सँधै हिँड्नुपर्ने बताउनुभयो । नेपाली कांगे्रस जनताको पार्टी भएको भन्दै जनतालाई महशुस गर्ने गरी विकास निर्माणमा लागिपरेको मन्त्री गुरुङले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांगे्रसका महासमिति सदस्य तथा भीरकोट नगरपालिका निर्वतमान नगरप्रमुख छायाराम खनाल, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्य, वडा नं. ५ का वडा अध्यक्ष सुवेदार कृष्णबहादुर थापालगायतले बोल्नुभएको थियो । नेपाली कांग्रेस भीरकोटका नगरसभापति यामप्रसाद अधिकारीको सभापत्विमा सम्पन्न कार्यक्रमको स्वागत उपसभापति विष्णुमाया काफ्ले र संचालन सचिव ताराप्रसाद अर्यालले गर्नुभएको थियो । पर्यटकीय स्थान स्वरेक मैदान जाने सडक सुन्दरबजारमा यसअघि विपि जयन्ती तथा स्मृति दिवसका अवसरमा रोपिएका विरुवाहरुको गोडमेल गरिएको कार्यक्रममा आमा समुह, टोल समुह, नेपाली कांगे्रसका नेता कार्यकर्ताहरु, सुभेच्छुक संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
यसैबीच उता नेपाली कांगे्रस जिल्ला कार्यसमिति स्याङ्जाको आयोजनामा विपि जन्म जयन्तीको अवसरमा खुल्ला रक्तदान तथा विपि विचार गोष्ठी कार्यक्रम स्याङ्जामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचारको फाईल खुल्ने क्रममा रहेको भन्दै वर्तमान सरकार ढलेपनि भ्रष्टाचारको मुद्धालाई किनारामा पु¥याई छाड्ने बताउनुभयो । भ्रष्टाचार नै देशका मुख्य समस्या रहेको भन्दै भ्रष्टाचारलाई न्युनीकरण गरेमा मात्रै देशमा समृद्धि र अमनचयन प्राप्त हुने भएकाले भ्रष्टाचारको फाईल अब बन्द नहुँने मन्त्री गुरुङले दावी गर्नुभयो ।
भ्रष्टाचारका फाईल खोल्दा आफ्नो पद गुमेपनि कुनै गुनासो नरहेको भन्दै भ्रष्टाचारलाई जरैदेखि निर्मुल पार्न अव नेपाली जनता जागरुक हुनुपर्ने समय आएको मन्त्री गुरुङले बताउनुभयो । साथै मन्त्री गुरुङले विपिका सिद्धान्तको आत्मसाथ गरी पार्टीलाई मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो । विपिले प्रतिपादन गरेका निति तथा सिद्धान्त देश विदेशमा अनुशरण गरिएको भन्दै उहाँको योगदान भुल्न नहुँने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसदद्धोय भोजराज अर्याल र महेश भट्राई, कांगे्रसका नेताहरु तारापति सुवेदी, वेदप्रसाद पनेरु, भगवतप्रकाश मल्ल, बुद्धिबहादुर राना कुमार, कुमबहादुर गुरुङ, छायाराम खनाल, अर्जुनप्रकाश अर्याल, तुल्सी गिरी, गोविन्दकुमार रानाभाट, लक्ष्मीप्रसाद रेग्मी, प्रेमराज पौडेल, धु्रवशर्मा पंगेनी, लिलबहादुर रनापाल, प्रकाश तिवारी, नेत्रप्रसाद पाण्डे, विक्रम सारु, भुपराज केसी, विष्णु काफ्ले, डोलराज पोख्रेल, माया राना, हेमप्रकाश गुरुङ, पशुपति पौडेल, तारा मल्ल, सिवसंसार श्रेष्ठलगायतले विपिको राजनितिक योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रम जिल्ला सभापति राजु थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत कार्यबहाक सभापति केदार काफ्ले र संचानल सचिव दामोदर लम्सालले गर्नुभएको थियो । कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।