समाचार
सोलुखुम्बुमा चिराइतो निकासी ६० प्रतिशतले बढ्यो
भदौ ३०, सोलुखुम्बु - सोलुखुम्बुबाट चिराइतो निकासीमा ६० प्रतिशतले बृद्धि भएको छ । जिल्लाबाट आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा ६० प्रतिशतले चिराइतो निकासी बृद्धि भएको हो ।
डिभिजन वन कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा ५ हजार किलो चिराइतो निकासी भएको थियो भने गत आर्थिक वर्ष २०७९/८० मा जिल्लाबाट १२ हजार ५ सय किलो चिराइतो निकासी भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा प्रतिशतको हिसाबले ६० प्रतिशत र संख्यात्मक हिसाबले ७ हजार ५ सय किलोले बढी हो ।
जिल्लामा चिराइतो उत्पादन बढेसँगै किनसी पनि बढेको कार्यालयका सुचना अधिकारी मनराज राईले बताउनुभयो । चिराइतो खेती विशेषगरीजिल्लाका टाक्सिन्दु, जुभिङ, बासा, वाकु, पावै, देउसा, सोताङ, गुदेल, नेचाबेतखारी, नेचाबतासे, सल्यान, पञ्चन, तिङला, नेले, मुक्ली, जुवु, भकाञ्जे, गोराखानी, केरुङ लगायतका क्षेत्रमा हुने गरेको छ ।
जिल्लामा उत्पादन भएको चिराइतो बढी जसो भारत निकासी हुने गरेकोे छ भने केहि मात्रामा विराटनगर, काठमाण्डौ लगायतको क्षेत्रमा पनि खपत हुने गरेको जनाइएको छ । चिराइतो उत्पादनबाट रामै आम्दानी हुने भए पनि पछिल्लो समय यस तर्फ किसानहरु हौसिएका छन् ।
जिल्लाका धेरै किसानहरुले अहिले जडीबुटी खेतीका लागि पनि प्रकृयाको काम गरिरहेको डिभिजन वन कार्यालयले जनाएको छ । एक समय अलैँचीमा मात्रै बढी केन्द्रित भएका यहाँका किसानहरु अहिले अलैँचीको विकल्पमा चिराइतोलाई लिने गरेका छन् ।
अलैँचीको भाउ केही वर्षयता निरन्तर ओरालो लाग्नु र बिरुवामा समेत रोगकिराले सताउदा उनीहरु अलैँची खेतीबाट पलायन हुने क्रम बढेको छ । जसका लागि किसानले अलैँचीको विकल्पमा चिराइतोलाई लिने गरेको लिखुपिकेका मिङमार शेर्पाले बताउनु भयाे । उहाँका अनुसार जिल्लामा अलैँचीको उद्गम थलोको रुपमा परिचित लिखुपिके गाउँपालिका क्षेत्रका धेरै किसानहरुले अहिले चिराइतो लगाउन थालेका छन् । कम लगानी र मेहनतमा राम्रै आम्दानी हुने भएपनि आफुहरु यस तर्फ अग्रसर भएको उहाँको भनाइ छ ।
जिल्लाको सोलुदूधकुण्ड नगरपालिका, थुलुङ दूधकोशी गाउँपालिका, माप्यदूधकोशी गाउँपालिका, लिखुपिके गाउँपालिका लगायतका क्षेत्रमा चिराइतो खेती गरिँदै आएको छ । चिराइतोलाई वन्यजन्तुहरुले समेत दुःख नदिने भएकाले यसतर्फ किसान आर्कषित भएका बताइएको छ । मकैबालीमा भालु, बाँदरको आतङ्कका कारण हैरान भएका किसानहरुलाई चिराइतो खेतीले धेरै राहत प्रदान गरेको सल्लेरीका धन बहादुर तामाङले बताए ।
औषधीय गुण प्रशस्त हुने चिराइतो जडीबुटीहरु मध्ये महत्त्वपूर्ण मानिन्छ । नेपालमा ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायत रोगका लागि घरेलु औषधिका रुपमा समेत यसकाे प्रयोग गर्ने गरिएको छ । एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउन डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ।