समाचार
वालिङ क्याम्पसको १५औँ साधारण सभाको उद्दघाटन सत्र सम्पन्न
रेडियो आँधीखोला
वालिङ, ३१ भाद्र ।
देशकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसको १५औँ साधारण सभाको उद्दघाटन समारोह सम्पन्न भएको छ । स्याङ्जाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पसको शनिबार साधारण सभाको उद्दघाटन सत्र सम्पन्न भएको हो । साधारण सभाको उद्दघाटन गर्दै गण्डकी प्रदेशका सांसद भोजराज अर्यालले शैक्षिक क्षेत्रको विकासका लागी राज्यका तिनै तह योजनाबद्ध ढंगले अगडि बढ्नुपर्ने बताउनुभएको छ । यहाँको सबैभन्दा जेठो क्याम्पसको शैक्षिक उन्नयनको लागी यहाँका राजनितिक दल, संचालक समिति, प्राध्यापक, विद्यार्थी संघसंगठनलगायत अभिभावक पनि एकजुट हुनुपर्ने बताउनुभयो ।
वालिङ क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु धेरै राजनितिक, सामाजिक तथा देशका निजामति क्षेत्रमा उच्च स्थानमा रहेको भन्दै क्याम्पसको शैक्षिक गुणस्तरलाई निरन्तरता दिन सबै निस्वार्थ भावनाका साथ लाग्नुपर्ने सांसद अर्यालले बताउनुभयो । कार्यक्रममा प्रदेश सांसदद्धोय कल्पना तिवारी र महेश भटराई, नेपाली कांगे्रसका वालिङ नगरसभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेललगायतले क्याम्पसको संरक्षण गरी नमुना क्याम्पसको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम संचालक समितिका अध्यक्ष हुमकान्त कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत क्याम्पस प्रमुख युवराज पाठक र संचालक संचालक सदस्य दिलिप बगालेले गर्नुभएको थियो । यसैबीच साधारण सभाको बन्द सत्र स्थगित भएको छ । साधारण सभाको उद्दघाटन सत्र सम्पन्न भएपनि कोरम नपुगेका कारण बन्द सत्र स्थगित भएको क्याम्पसका प्रध्यापक राजेन्द्र डुम्रेले जानकारी दिनुभयो ।
२०३७ सालमा स्थापना भएको क्याम्पसले वार्षिक साधारणसभासँगै शैक्षिक तथा आर्थिक व्यस्थापनका लागि बिभिन्न योजनाहरु प्रतिवेदन मार्फत सार्वजनिक गरेको छ । क्याम्पसमा समयानुकुल प्राविधिक कक्षाहरु थप गर्नका लागि क्याम्पस मातहतकै उक शैक्षिक प्रतिष्ठान निर्माण गरी वृहत योजना बनाउने, क्याम्पसको आर्थिक व्यवस्थापनका लागि अक्षय कोष निर्माण योजना अगाडि बढाई १० करोड रुपैयाँको ३ वर्षै लक्ष्य निर्धारण गरी काम गर्ने योजना प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै गुणस्तरीय शिक्षाका लागि क्याम्पसभित्र सबै प्राध्यापकहरुलाई निरन्तर तालीम तथा गोष्ठीमा सहभागी गराई विशेष कार्यक्रम लागु गर्ने योजना क्याम्पसले बनाएको छ । निरन्तर अतिरिक्त आम्दानीको स्रोतका निम्ति जनप्रतिनिधि, स्थानीय निकाय र आवश्यक अन्य पक्षसँग सम्पर्क तथा समन्वय गर्ने आगामी योजनामा पारिएको छ । नयाँ कार्यक्रमकोरुपमा कक्षा ९ देखि १२ सम्मको कक्षा सञ्चालनको लागि अनुमति स्वीकृतिको प्रकृया अगाडि बढाउने तथा आंगिक क्याम्पस बनाउन सम्बन्धित निकायमा पहल गर्नेलगायत भावी योजना प्रतिवेदनमा उल्लेख गरिएको छ ।