समाचार
उपकार बचत तथा ऋण सहकारी संस्थाको ३१औँ साधारण सभा यही अशोज २९ र ३० गते
रेडियो आँधीखोला
वालिङ, ९ असोज ।
वालिङ ८ मोड स्थित उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१औँ साधारण सभा तथा ९औँ अधिवेसन यही अशोज २९ र ३० गते हुने भएको छ । साधारणतय सहकारी संस्थाहरुले पुस महिनामै साधारण सभा गर्ने परिपार्टी रहेका बेला उपकारले भने अशोजमै आफ्नो साधारण सभा तथा अधिवेसनको अन्त्य गर्ने भएको हो । यही मंसिर ७ गतेसम्म वर्तमान कार्यसमितिको कार्यकाल रहेकाले पनि कार्यकाल सकिन २ महिना अगावै अधिवेसन मार्फत नयाँ नेतृत्व निर्वाचित गर्ने तयारीमा सहकारी रहेको हो । आश्विन २९ गते सबै सेवाकेन्द्रमा साधारणसभा गरिने छ । सबै सेवाकेन्द्रको प्रतिनिधिमूलक उपस्थितिमा संस्थाको मुख्य कार्यालय वालिङमा ३० गते साधारणसभा सम्पन्न गरिने कार्यक्रम रहेको छ ।
सोमबार संस्थाको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाका कार्यबहाक अध्यक्ष लक्ष्मीपती पौडेलले संस्थाको पारदर्शिताका लागी र आफ्ना सदस्यहरुलाई संस्थाको विषयमा जानकारी दिने उद्देश्यले पत्रकार भेटघाटको आयोजना गरिएको बताउनुभयो । संस्थाले जनयुद्दको संक्रमणकालीन समय, कोभिड १९को महामारी, आर्थिक मन्दीका विभिन्न समस्याहरुसंग जुध्दै यहाँसम्म आईपुग्दा पनि संस्थाले आफ्ना सदस्यहरुलाई भरोसा विश्वास कायम राख्न सफल भएको कार्यबहाक अध्यक्ष पौडेलले बताउनुभयो ।
कार्यबहाक अध्यक्ष पौडेलले भन्नुभयो, “हामीले संस्थाको बारेमा सदस्यहरुलाई पारदर्शी रुपमा जानकारी गराउँदै आएका छौँ । आफ्ना संस्थाको अवस्थाको विषयमा जान्न पाउने अधिकार सबै सेयर सदस्यहरुमा छ । हामीले विभिन्न माध्यमबाट साधारण सभाको विषयमा पनि जानकारी गराउँदै आएका छौँ भने मिडियाको माध्यमबाट पनि आवश्यक सूचना प्रवाह गरिरहेका छौँ ।”
कार्यक्रममा संस्थाका निमित्त महाप्रबन्धक झलकनारायण पाण्डेले संस्थाको कारोबारका विषयमा जानकार गराउनुभएको थियो भने पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले संस्थाले उत्पादनमुलक कार्यमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको संचानल सचिव यज्ञप्रसाद अधिकारीले गर्नुभएको थियो ।
संस्थाले आगामी अधिवेसनका लागी संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिमा उम्मेदवार दिनका लागी पुर्व नेतृत्व क्षमता अभिवृद्धि तालिम अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । यो तालिममा सहभागिताको लागी पनि सदस्यहरुलाई जानकारीका लागी सबै प्रकारको माध्यमबाट सूचना पु¥याउने कोशिस गरिएको पौडेलले बताउनुभयो । संस्थाले राहत कोषमार्फत सदस्यहरुलाई मृत्यु संस्कार, असाध्य रोग उपचारमा सहयोग पुगोस भन्ने हेतूले नगद सहयोग गर्दै आएको छ मातृ शिशु स्याहारका लागी पनि पोषणयुक्त आहारका लागी नगद प्रदान गर्दैै आएको छ ।
यस्ता सेवा सविधा प्राप्त गर्नका लागी संस्थामा नियमित बचत गरेको हुनुपर्ने, कम्तीमा १ वर्ष वा सोभन्दा बढी समय संस्थामा कारोबार गरेको हुनुपर्नेछ । साथै संस्थाले वर्तमान आर्थिक संकटका बेला ऋणी सदस्यहरुलाई टेवा पुग्ने गरी कर्जा लिएर सावा व्याज चुक्ता गर्न कठिनाई भएकाहरुको लागी आँफूले उत्पादन गरेका जिन्सी वस्तु संस्थाले विक्रि गरिदिने र विक्रि बापतको रकमले सावा व्याज चुक्ता गर्न सक्ने व्यवस्था पनि गरेको छ ।
वालिङमा प्रधान कार्यालय रही वालिङसंगै गल्याङ, चापाकोट, भीरकोट नगरपालिका १, २, ४, ५ र ९, कालिगण्डकी गाउँपालिकाको वडा नं. ३ देखि वडा नं. ७ सम्म, हरिनास गाउँपालिका ६ र विरुवा गाउँपालिका ६ लाई कार्यक्षेत्र बनाएको छ । सहकारीले वालिङ, बायँटारी, केवरे, चापाकोटको दामाचौर र कालीगण्डकीको मिर्मीमा सेवाकेन्द्र मार्फत सेवा प्रवाह गर्दै आएको छ । ३ हजार ९१९ महिला र ३ हजार ८७८ पुरुष र १७ संस्थागत गरी ७ हजार ८१४ सेयर सदस्य रहेको सहकारीको बालबचतकर्ता १ हजार ७२१ रहेका छन् ।
२१ करोड तरलता रहेको सहकारीको लगानी ४७ करोड ७७ लाख ६४ हजार ६१० रहेको छ । ८२ करोड २ लाख ८ हजार ३३३ कारोबार गरेको संस्थाको सदस्यहरुको बचत ६२ करोड ६० लाख १३ हजार ४०६ रहेको छ । संस्थाको अधिकृत शेयर पुँजि २० करोड रहेको छ भने चुक्ता शेयर पूँजि ७ करोड ६९ लाख ५३ हजार ८०० रहेको छ । २०५० सालमा स्थापना भएको सहकारी गण्डकी प्रदेशकै ठुलो र व्यवस्थापकीय हिसाबले राम्रो रहेको सहकारी मानिन्छ ।