समाचार
उपकार सहकारीद्वारा पूर्व नेतृत्व क्षमता अभिवृद्धि तालीम
रेडियो आँधीखोला
वालिङ, ११ असोज ।
स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पूर्व नेतृत्व क्षमता अभिवृद्धि तालीम सुरु गरेको छ । सहकारीले यही आश्विन ३० गते हुने नवौं अधिवेशन लक्षित पूर्व नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धी दुइदिने तालीम बुधबार संस्थाको मुख्य कार्यालयको हलमा सुरु गरेको हो । तालीममा ६४ जनाले सहभागिता जनाएको संस्थाका कार्यबाहक अध्यक्ष लक्ष्मीपति पौडेलले जानकारी दिनुभयो ।
कार्यबाहक अध्यक्ष पौडेलका अनुसार संस्थाको सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिमा उमेदवार बन्नका लागि पूर्व नेतृत्व क्षमता अभिवृद्धि तालीम अनिवार्य लिएको हुनुपर्ने व्यवस्था भए बमोजिम तालीम सञ्चालन गरिएको हो । तालीमको सहजिकरण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड ( नेफ्स्कुन ) का प्रशिक्षक सूर्यप्रसाद तिमिल्सिनाले गनुभएको छ । २०५० सालमा स्थापना भएको सहकारीको ३१ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन आश्विन २९ र ३० गते हुने भएको छ ।
साधारणतया सहकारी संस्थाहरुले पुस महिनामा साधारणसभा गर्ने परिपार्टी रहेका बेला उपकारले भने असोजमै गर्ने भएको हो । आगामी मंसिर ७ गतेसम्म वर्तमान कार्यसमितिको कार्यकाल रहेपनि २ महिना अगावै अधिवेशन मार्फत नयाँ नेतृत्व निर्वाचित गर्ने तयारीमा सहकारी रहेको हो । कात्तिक मङ्सिर महिना खेतिपाती थन्क्याउने समय हो । योसँगै संस्थाको वार्षिक कार्य योजना सार्वजनिक गर्ने साधारणसभा बेलैमा गर्न आवश्यक हुने भएकाले पनि २ महिना अगावै तयारीमा लागिएको संस्थाका कार्यबाहक अध्यक्ष पौडेलले बताउनुभयो ।
सहकारीले वालिङ, बायँटारी, केवरे, चापाकोटको दामाचौर र कालीगण्डकीको मिर्मीमा सेवाकेन्द्र मार्फत सेवा प्रवाह गर्दै आएको छ । आश्विन २९ गते सबै सेवाकेन्द्रमा साधारणसभा गरिने छ । सबै सेवाकेन्द्रको प्रतिनिधिमूलक उपस्थितिमा संस्थाको मुख्य कार्यालय वालिङमा ३० गते साधारणसभा सम्पन्न गरिने कार्यक्रम रहेको छ । ३० गते नै नवौं अधिवेशन गरिने कार्यवाहक अध्यक्ष पौडेलले जानकारी गराउनुभयो ।