समाचार
वालिङको विकासमा यहाँका जनताको महत्वपुर्ण भुमिका छ ः नगरप्रमुख खांण
रेडियो आँधीखोला
वालिङ, १२ असोज ।
वालिङ नगर प्रमुख कृष्ण खांणले वालिङमा अहिलेसम्म भएका विकास निर्माणमा यहाँका जनताकै धेरै ठुलो हात भएको बताउनुभएको छ । जनताले नै चुनेर जनप्रतिनिधिको रुपमा स्थानीय, प्रदेश केन्द्रमा पठाएको भन्दै जनप्रतिनिधि मात्रै काम गराउनका लागी भुमिका खेल्ने माध्यम भएको बताउनुभएको हो ।
विहिबार वालिङ ९ भुम्रेमा ढुंगे धाराको उद्दघाटन गर्दै नगरप्रमुख खांणले यस्तो बताउनुभएको हो । विकास निर्माणको जस लिने होड चलिरहेका बेला नगरप्रमुख खांणले भन्नुभयो, ‘नागरिकले म्यान्डेड दिएकै कारण हामी जनप्रतिनिधि भएका हौँ । जनताको म्यान्डेड बिना जनप्रनिधि कसरी हुन्थेउँ, जनताले काम गर्नका लागी दिएको म्यान्डेडलाई हामी जनप्रतिनिधिले भुल्नु हुँदैन ।’
परम्परागत कला संस्कृतिको संरक्षण गर्नुपर्ने भन्दै शहरीकरणले हराउँदै जान थालेको ढुंगे धाराको संरक्षणका लागी यो योजनाले महत्वपुर्ण भुमिका निर्वाह गरेको नगरप्रमुख खांणले बताउनुभयो । वालिङको पहिचानका रुपमा रहेका यस्ता ऐतिहासिक, परम्परागत संस्कार संस्कृतिको संरक्षण र संर्वद्धनका लागी नगरपालिका प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले स्मार्ट सिटिको रुपमा अगाडि बढ्दै गरेको वालिङमा हाम्रा मौलिकपनालाई पनि संरक्षण गर्दै अगाडि बढिने बताउनुभयो ।
आधुनिकिकरणसंगै मौलिकपनालाई पनि भुल्न नहुँनेमा उपप्रमुख तिवारीको जोड छ । कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठले केन्द्र सरकारको सहयोगमा झण्डै ४० लाखको लागतमा निर्मित ढुंगे धाराको महत्वको विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य युगमाया पंगेनी, बालकृष्ण श्रेष्ठ, विद्या श्रेष्ठ लगायतले बोल्नुभएको थियो । कार्यक्रम वडा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन मधुसुदन आचार्य र स्वागत तारा प्रसाद श्रेष्ठले गर्नुभएको थियो । उक्त धाराबाट वालिङ ९ र १०का नागरिक तथा भुम्रे भकुण्डे बजार लगायतका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् ।