समाचार
पर्यटकको पर्खाइमा ऐतिहासिक र पुरातात्विक महत्वको बहाकोट
रेडियो आँधीखोला
वालिङ, १६ असोज ।
स्याङ्जाको ऐतिहासिक र पुरातात्विक महत्वको बहाकोट पर्यटकको पर्खाइमा छ । अग्लो र रमणीय वातारणमा रहेको बहाकोट मन्दिर तथा पहराको खोंचमा रहेको कैलाश गुफा बहाकोटको मुख्य आकर्षण हुन् । पुतलीबजार नगरपालिकाको वडा नम्वर ८ मा पर्ने बहाकोटको कालिका मन्दिर जिल्ला सदरमुकामदेखि पूर्व ७ किलोमिटरको दुरीमा रहेको छ । अग्लो डाँडामा रहेको र परापूर्वकालदेखि नै पूजा आजा हुँदै आएको बहाकोट कालिका मन्दिर हो । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको पुतलीबजारदेखि बहाकोट ग्रामिण सडकले जोडिएको छ । यो मन्दिरलाई सात सय बहाकोट कालिका मन्दिर पनि भनिन्छ ,।
यहाँ तत्कालिन समयमा सातसय घर धुरीले पूजा आजा गर्ने भएकाले सातसय बहाकोट कालिका मन्दिर भन्ने गरिएको ८ नम्वर वडा अध्यक्ष इमबहादुर सेन बताउनुहुन्छ । यसैगरी गुठीको नाममा सातसय मुरी माटो जग्गा छ । यसकारण पनि सातसय बहाकोट भनिएको हुनसक्ने वडा अध्यक्ष सेनको भनाई छ ।
अध्यक्ष सेनका अनुसार बाइसे चौविसे राजाका पालादेखि पूजाआजा गरिदै आइएको छ । खुकुरी, भाला, खोंडालगाएत तत्कालिन समयका हात हतियारहरु सुरक्षित रहेका र मन्दिर अगाडि सुताइएको मौलो यहाँको अर्को विशेषता हो । यसकारण पनि धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व रहेको अध्यक्ष सेनको भनाई छ ।
बहाकोट डाँडादेखि तल फाँट क्षेत्र लत्रेपिपल, गैयाको फाँट, सुन्दरखोलालगाएतका स्थानमा रहेका गुठीको जग्गामा जिम्माल, मुखिया, बाहुन,मगर दमैले खेति गर्दै आएका छन् । उनीहरुले गुठीको जग्गा कमाई गरे वापत पूजाआजाका लागि आवश्यक चामल दिने गर्दछन् । यो मन्दिरमा विशेषगरी दशैंका बेला पूजा आजाका लागि टाढा टाढादेखि आउने गर्दछन् । यहाँ दशैंका बेला सयौंको सँख्यामा मन्दिर दर्शन गर्न र पञ्चवली तथा पाठा वलि दिने गरिन्छ ।
यस्तै बहाकोटको अर्को गन्तव्य कैलाश गुफा हो । कैलाश गुफाको बनावटको प्रकृति हेर्दा श्रृष्टिकालदेखिकै हुनसक्ने अनुमान गर्न सकिने वडा अध्यक्ष सेन बताउनुहुन्छ । गुफामा जानका लागि बाटो भने त्यति सहज बनिसकेको छैन । असहज यातायातका बावजुद पनि आन्तरिक तथा वाह्य पर्यटकहरु जसोतसो जाने गर्दछन् ।
बाटोको सुविधा हुनसके नगरपालिकाकै पर्यटकीय गन्तव्य बन्ने स्थानीयहरुको दावी छ । गुफाभित्र लोपोन्मुख चमेरा प्रजातिका चरा प्रसस्त मात्रामा बस्ने गर्दछन् । तल र माथि गरी दुईवटा लाइन भएको गुफाभित्र पानीको पोखरी, गाईको स्वरुप र राजाको मुकुटको आकृति देख्न सकिन्छ । गुफा प्रवेशद्वार अगाडि शिवालयको मन्दिर छ भने यहाँ शिवरात्रीका बेला पूजाआजासहित विशेष भीड लाग्ने गर्दछ ।
सामाजिक तथा आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण आधारशिला हो । बहाकोटको सम्भाव्यता अध्ययनसहित स्थानीय पालिकासँगै सम्बन्धित निकायले प्राथमिकता दिने हो भने समग्र स्याङ्जाकै समृद्धिमा टेवा पुग्ने देखिन्छ ।