समाचार
जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्धारा अनुगमनलाई तिव्रता, सोमबार बयरघारी बजार अनुगमन
रेडियो आँधीखोला
वालिङ, १६ असोज ।
चाडपर्व नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बजार अनुगमनलाई तीब्रता दिएको छ । चाडपर्वमा हुन सक्ने ठगी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा जिल्लाका विभिन्न पालिकाहरुको बजार अनुगमनलाई तिव्रता दिईएको हो । सोमबार भीरकोटको बयरघारी बजारमा अनुगमन गरिएको छ ।
सहायक प्रजिअ पौडेल, उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष राजेन्द्र मरासिनी, नगरपालिकाका राजस्व अधिकृत सन्तोष पौडेल, पत्रकार र प्रहरीहरुको सहभागितामा सोमबार भीरकोटका क्लिनिक, हार्डवेयर र खाद्य पसलहरुमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा मिति गुज्रिएका अखाद्य वस्तु बरामद गरि नष्ट गरिएको छ भने अनुमति नलिई ल्याब संचालन गरेका क्लिनिक कारबाहीमा परेका छन् ।
अनुमगनमा क्रममा उपभोग्य मिति गुज्रिएको चामल, पेय पदार्थ बियर, विष्कुट, घ्यूलगायतका अखाद्य वस्तु नगरपालिकको सरसफाई केन्द्रमा सोमबार नै नष्ठ गरिएको हो । अनुगमनका क्रममा दुई क्लिनिक र एक हाडवेयर कारबाहीमा पर्दा १ लाख १० हजार जरीवाना तिराईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दुई क्लिनकले अनुमति नलिई ल्याब संचालन गरेकाले ५०÷५० हजार र एक हाडवेयरलाई बिल बिजक जारी नगरिएकाले १० हजार गरी १ लाख १० हजार जरीवाना तिराईएको हो । त्यस्तै दुई क्लिनिकलाई एक महिनाभित्रै सम्बन्धीत निकायबाट अनुमति लिएर ल्याब संचालन गर्न आग्रह गरिएको छ । यसअघि चापाकोट, अर्जुनचौपरी, गल्याङलगायतका पालिकाहरुको बजार अनुमगन गरिसकिएको छ ।