समाचार
मन्त्री तिवारीद्वारा पहिरो प्रभावित वस्तीको अनुगमन
रेडियो आँधीखोला
वालिङ, १९ असोज ।
गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले आज दमाईडाँडाको पहिरो प्रभावित वस्तीको अनुगमन गर्नुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका ८ नं वडामा रहेको दमाईडाँडामा अविरल वर्षासँगै तीन घरमा क्षति पुगेको छ । बिहीबार बिहान कान्लामाथि रहेको घरको आँगन खस्दा तल रहेका दुई घरमा क्षति पुगेको थियो । पहिरोले क्षति पुगेका तीन वटै घरमा मानिसहरु बस्न छाडेर आफन्तको आश्रय लिएर बसिरहेका छन् ।
छ घर रहेको उक्त वस्तीमा ३ घरमा पहिराले क्षति पु¥याएपछि मन्त्री तिवारीसहित स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, वालिङ नगर उपप्रमुख कविता तिवारी गैह«े, पूर्व नगर प्रमुख दिलीपप्रताप खाँण लगायत जनप्रतिनिधि, कर्मचारीहरु, पत्रकार तथा विभिन्न संघ संस्थाबाट पहिरो प्रभावित वस्तीको अनुगमन गरी वस्ती स्थानान्तरणको प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ ।
२०७७ सालमा उक्त वस्तीमा धाँजा फाटेपछि भूगर्भविद्ले भौगर्भिक अध्ययन गरी बस्न उपयुक्त नभएको प्रतिवेदन दिएको थियो । जोखिममा रहेको वस्तीलाई स्थानान्तरण गरी दीर्घकालिन समाधान निकाल्न आँफू लागिपर्ने उहाँले बताउनुभयो । केन्द्र सरकार र स्थानीय सरकारसँग समन्वय गर्दै वस्ती स्थानान्तरण गर्नकालागि यसअघि खरिद गरिएको जग्गामा प्रक्रिया थाल्न पहल गर्ने उहाँले बताउनुभयो ।
प्रभावित तीन घर परिवारलाई जिल्ला विपद कोषबाट प्रति परिवार पन्ध्र हजार नगद प्रमुख जिल्ला अधिकारीले उपलब्ध गराउनुभएको छ । जिल्ला रेडक्रस सोसाईटी स्याङ्जाले पहिरो प्रभावित तीन परिवारलाई तत्काल आवश्यक पर्ने भाँडाकुँडा, त्रिपालहरु उपलब्ध गराएको सभापति दिनेश अर्यालले बताउनुभयो ।