समाचार
वालिङ नगरपालिकालाई एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड
रेडियो आँधीखोला
वालिङ, २५ असोज ।
फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’ बाट वालिङ नगरपालिका सम्मानित भएको छ । स्याङ्जाको वालिङ नगरपालिका फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत सम्मानित बनेको हो ।
एसिया प्यासिफिक क्षेत्रका संयुक्त नगरहरुको स्थानीय सरकारहरुको समूह(युसिएलजी–एसिया प्यासिफिक)बाट वालिङ उत्कृष्ट नगरको रुपमा सम्मानित बनेको छ । एसिया प्यासिफिक क्षेत्रका नगरपालिकाहरुमध्ये वालिङ उत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित बनेको नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।
उहाँले नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा गरेको कामको मूल्याङ्कन गर्दै युसिएलजीले वालिङलाई उत्कृष्ट नगरपालिका घोषणा गरेको बताउनुभयो । नगरप्रमुख खाँणले नगरपालिकाले नगरभित्र उत्सर्जन हुने विभिन्न प्रकृतिका फोहोरमैला सही व्यवस्थापन गरी फोहोरलाई मोहरमा रुपान्तरण गर्ने अभियानले सार्थकता पाएको उल्लेख गर्नुभयो । ‘नगरबासीहरुको सहयोग,कर्मचारीहरुको तदारुकता र जनप्रतिनिधिहरुको समर्पणले वालिङ सम्माति बनेको हो’खाँणले भन्नुभयो–‘यो अभियानलाई अझै उचाईमा लैजाँदै उत्सजैन हुने फोहोरलाई पूर्ण रुपमा आम्दानीको स्रोतको रुपमा परिणत गर्न हामी आवश्यक सबै कदमहरु अगाडि बढाउँछौँ ।’
सरसफाईको क्षेत्रमा दिगो विकासको लागि निर्दिष्ट बुँदाहरुको सही पालना तथा कार्यान्वयनको लागि नगरपलिका प्रतिवद्ध रहेको नगरप्रमुख खाँणको भनाई छ । सम्मानित बनेसँगै नगरपालिकाले ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छ । पुरस्कार वितरण १३–१५ नोभेम्बर २०२३ मा चिनको यीवु शहरमा हुनेछ ।