समाचार
गल्याङ, ११ जिमुहाका २८ घरधुरीमा एक घर एक धारा जडान
रेडियो आँधीखोला
वालिङ, २६ असोज ।
स्याङ्जाको गल्याङ नगरपालिका ११ जिमुहाका २८ घरधुरीमा एक घर एक धारा जडान गरिएको छ ।
गाउँभन्दा टाढा रहेको धारा तथा कुवाबाट खानेपानीको जोहो गर्दै आएका यहाँका स्थानीयको घर घरमै धारा जडान गरिएको हो । घर घरमै धारा जडान भएसँगै सहजरुपमा खानेपानी उपलब्ध भएको नौविसे खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन डुम्रेले बताउनुभयो ।
कामलाङमा रहेको मुहानबाट जिमुहासम्म पाईपमा पानी ल्याएर त्यहाँबाट गाउँभन्दामाथि पुरानो खरबारीमा रहेको ट्याङ्कीमा पानी तानेर पाईपमार्फत घर घरमा वितरण गरिएको उहाँले बताउनुभयो । ट्याङ्कीबाट तीन किलोमिटर वितरण पाईपमार्फत घर घरमा पानी पु¥याईएको हो ।
गाउँलेले धेरै पहिलादेखि प्रयोग गर्दै आएको मुलबाट पानी ल्याएर घर घरमै वितरण गरिएपछि स्थानीयमा खुसियाली छाएको स्थानीय समाजसेवी एवं उपभोक्ता सीता डुम्रेले बताउनुभयो ।
“पहिला त्यही मुहानको पानी डोकोमा बोकेर खानुपथ्र्यो” उहाँले भन्नुभयो, “चार पाँच वर्षपछि सोही मुलको पानी पाईपमार्फत घर घरमै आईपुगेको छ यो हाम्रालागि खुसीको कुरा हो ।”
खानेपानीको सहज उपलब्धतासँगै अब पिठ्यूमा पानी बोकेर खानुपर्ने अवस्थाको अन्त्य भएको छ । यसअघि खानेपानी लिनकालागि खर्चनुपर्ने समय अब वचत हुने उहाँको बुझाई छ ।
आर्थिक वर्ष २०७६÷०७७ देखि शुरु भएको नौविसे खानेपानी आयोजना आर्थिक वर्ष २०७९÷०८० मा निर्माण सम्पन्न भई बुधबार (हिजो) मात्रै उपभोक्ता समितिलाई स्वामित्व हस्तान्तरण गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाका डिभिजन प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताउनुभयो ।
उक्त आयोजनाबाट जिमुहा गाउँका २८ घरधुरीका एकसय ३३ जना लाभान्वित हुने डिभिजन प्रमुख तिमिल्सिनाले बताउनुभयो । कूल रु. ३७ लाख ५१ हजारको लागतमा आयोजना निर्माण सम्पन्न भएको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाबाट रु. २९ लाख ८१ हजार र उपभोक्ता समितिबाट जनश्रमदान रु. ७ लाख ७० हजार लागत रहेको छ ।
उक्त खानेपानी आयोजनाको बुधबार गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले उद्घाटन गर्नुभएको थियो ।