समाचार
पेटको क्याम्सर भएका नारायण भट्टराईलाई १ लाख २४ हजार सहयोग
वालिङ, २८ असोज ।
क्यान्सर पिडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.११ साउनेपानी घरभई हाल चोरमारा बस्ने नारायण भट्टराईलाई देश विदेशबाट संकलन गरिएको १ लाख २४ हजार २ सय २३ रुपैयाँ सहयोग प्रदान गरिएको हो । भट्टराईलाई पेटको क्यान्सर भएको र आर्थिक अभावका कारण औषधि उपचारमा समस्या भएपछि सञ्चारकर्मी टिकाराम अधिकारीको अगुवाईमा आर्थिक सहयोग संकलन अभियान थालनी गरिएको थियो ।
कोरियामा रहनुभएका यज्ञमुर्ती बस्याल र महेन्द्र सापकोटाको पहलमा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहनुभएका ३६ जनाबाट संकलन गरिएको ८४ हजार २ सय २३ रुपैयाँ, युएइबाट २० हजार, गल्कोट मावि जिमुहाँका शिक्षक कर्मचारीबाट १० हजार ,गणेश आधारभूत विद्यालयका प्रअ थिरलाल कंडेलबाट ५ हजार तथा समाजसेवी टिकादेवी बस्यालबाट ५ हजार गरि जम्मा १ लाख २४ हजार २ सय २३ रुपैयाँ भट्टराईलाई जिमुहाँमा एक कार्यक्रमका बीच हस्तान्त्रण गरिएको हो ।
भट्टराईको विगत लामो समय देखि भारतको लखनौं स्थित भगवती रुप हस्पिटलमा उपचार भइरहेको घर परिवारले जनाएका छन् । भट्टराईको उपचारको क्रममा ठूलो धनरासी खर्च भएको र घरको आर्थिक अबस्था कमजोर भएका कारण सहयोगको अपिल गरिएको भट्टराईका धर्मपत्नी तुलसा भट्टराईले बताउनभुयो । आम्दानीको स्रोत नभएको र जग्गा जमिन बिक्री गर्न पनि जग्गा जमिन प्राप्त नभएका कारण आफूहरुले सहयोगका लागी देश विदेशमा रहनुभएका महानुभावसंग उपचारका लागि सहयोगको अपिल गरेको बताउनुभयो ।
सहयोग रकम हस्तान्त्रण कार्यक्रममा समाजसेवी ज्ञान प्रसाद सापकोटा, युबराज बस्याल, आलमदेवी सामुदायिक परोपकार आशा मञ्चका अध्यक्ष रेसम राज भट्टराई, गल्कोट माविका शिक्षक नारायण प्रसाद खनाल, शिक्षिका सावित्रा कंडेल, कृषि फलफूल तथा पशुपालन कृषक समुहकी अध्यक्ष सीता देवी डुम्रे, गल्याङ जेसिजका कोषाध्यक्ष डोलराज खनालले बिरामीलाई थप उपचारका लागि आर्थिक सहयोग संकलनमा साथ सहयोग गर्ने प्रतिबन्धता व्यक्त गर्नुभयो ।
क्यान्सर पिडित भट्टराईले विश्वमा आर्थिक संकट हुदा पनि खानाको केही अंश कटाएर आफ्नो उपचारमा सहयोग गर्नुभएको भन्दै धन्यवाद व्यक्त गर्दै थप उपचारका लागि आगामी दिनमा पनि यस्तै साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।