समाचार
पहिलो पाइला नेपाल स्याङ्जाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
रेडियो आँधीखोला
वालिङ, ६ कार्तिक ।
पहिलो पाइला नेपाल स्याङ्जा शाखाले नेपालीहरुको महान पर्व वडा दशैं, शुभदीपावली, छठ पर्व साथै नेपाल सम्बत ११४४ को उपलक्ष्यमा एक कार्यक्रमका बीच शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । पहिलो पाइला नेपाल स्याङ्जा शाखाका सल्लाहकार चन्द्रमणि पौडेलले जिल्ला अस्पताल स्याङ्जामा उपचाररत बिरामीहरुलाई फलफुल वितरण गरी उक्त कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो । सल्लाहकार पौडेलले अस्पतालमा उपचाररत बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको थियो साथै उहाँले हाम्रा संस्कृतिको जर्गेना गरि चाडपर्वलाई व्यवस्थित तरिकाले मनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा पहिलो पाइला नेपालकी केन्द्रिय सदस्य एवं स्याङ्जा शाखाकी संस्थापक अध्यक्ष स्मृति काफ्लेले केन्द्रिय समितिको तर्फबाट नेपालीहरुका महान पर्वहरु मनाउँद तडक भडक र विकृतिलाइ हटाउँदै मनाउनुपर्ने बताउनुभयो । साथै चाडपर्वले एकाआपसमा आत्मियता, माया सद्भाव तथा भातृत्वको विकास हुनेभएकाले विकृतिरहित पर्व बनाउन सबै एक हुनुपर्ने उहाँको भनाइ थियो ।
त्यस्तै, कार्यक्रममा जिल्ला अस्पताल स्याङ्जाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सचिना रानाभाट, संस्थाकी जिल्ला सभापति सन्ध्या लामिछाने लगायतले सुभकामना व्यक्त गर्नुभएको थियो । पहिलो पाइला नेपाल स्याङ्जा शाखाका सल्लाहकार चन्द्रमणि पौडेलको प्रमुख आतिथ्यतामा साथै जिल्ला शाखाकी सभापति सन्ध्या लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको तर्फबाट उपाध्यक्ष पवन मरासिनीले स्वागत तथा सुभकामना मन्तव्य राख्नुभएको थियो भने सह–सचिव गोपि सुवेदीले संचालन गर्नुभएको थियो ।