समाचार
स्याङ्जाको बिरुवा गाउँपालिका ७ गहतेमा संचालित महोत्सव आज सकिने
वालिङ, १३ कार्तिक ।
स्याङ्जाको बिरुवा गाउँपालिका ७ गहतेमा संचालित महोत्सव भोली सकिने भएको छ । मनाकामना मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मनकामना मन्दिर व्यवस्थापन समितिले दोस्रो महोत्सव आयोजना गरिएको हो । मनको कामना पुरा गरिदिने विश्वास रहदै आएको एतिहिासिक धार्मिक स्थल मनकामना मन्दिरको प्रचार प्रसार र मन्दिरको पुर्ननिर्माणका लागी महोत्सवको आयोजना गरिएको हो । यही कार्तिक ९ गतेबाट शुरु भएको महोत्सवमा ठुलो धनराशीको भलिबल प्रतियोगिता समेत संचालन गरिएको छ ।
‘दोस्रो मनकामना महोत्सव २०८० सफल पारौं, धार्मिक पर्यटन, सांस्कृतिक तथा खेलकुद विकासमा टेवा पु¥याऔं’ भन्ने मुलनारा सहित स्याङ्जाको बिरुवा गाउँपालिकाको एकमात्र शक्तिपिठको रुपमा रहेको मनकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकसित गर्न ५ दिने महोत्सव गरिएको छ । १९८५ सालमा स्थानीय खड्कबहादुर गुरुङ्मा देवीको शक्ति आएपछि काम्दै साविकको मनकामना गाविस पुरै हिडनुभएको र पछि उहां हाल मन्दिर रहेको स्थानमा ७ दिन ७ रात तपस्या गरी बसेको बताईन्छ । तपस्या गर्दागर्दै उहां काम्न छाडेपछि त्यहाँ मनकामना देवीको उत्पत्ती भएकोले हरेक पुर्णिमामा पुजाआजा गर्ने प्रचलन रहदै आएको स्थानीयहरु बताउछन् ।
अहिले मनकामना मन्दिरमा भाकल गर्ने हरेक भक्तजनहरु वडा दशैंको कोजाग्रत पुर्णिमा र चैतेदशैको पुर्णिमामा पुजा गर्न आउने गर्दछन् । मनकामना मन्दिर व्यवस्थापन समितिले वडादशैंको कोजाग्रत पुर्णिमा र चैतेदशैको पुर्णिमामा मेला समेत गर्दै आएका थिए । जुनसुकै अपठ्यारो र दुखमा मनकामनालाई भाकल गर्ने हो भने पुरा हुने विश्वास रहदै आएको स्थानीय समाजसेवी ध्रुवविक्रम खाँणले बताउनुभयो ।
सिद्धार्थ राजमार्गको वालिङबाट झण्डै १८ किलोमिटर कच्ची सडक मार्फत पुग्न सकिने यो मन्दिर जिल्लाकै उच्च भागमा पर्दछ । यसलाई धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्न सकियो भने यहाँका स्थानीयको आयआर्जनमा समेत टेवा पुग्ने उदेश्यले यो महोत्सव आयोजना गरिएको दोस्रो मनकामना महोत्सव २०८० का अध्यक्ष मेखराज गुरुङ्ले बताउनुभयो ।
भलिबल खेलमा पुतलीबजार ७ ठुलाडिहि फाईनलमा प्रवेश गरेको छ । आईतबार भएको सेमिफाईनल खेलमा वालिङ ४ लाई पराजित गर्दै ठुलाडिहि फाईनलमा प्रवेश गरेको हो । भोली हुने पहिलो चरणको सेमिफाईनल खेलमा आयोजक र भीरकोट ३ खेल्नेछन् । भोली हुने सेमिफाईनलमा विजयी हुने टिमले ठुलाडिहिसंग उपाधिका लागी प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम्, दित्तिय, तृत्तिय र सान्त्वना हुनेले क्रमश ः १ लाख ११ हजार १ सय ११, ७१ हजार १ सय ११, ४१ हजार १ सय ११ र २१ हजार १ सय ११ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।