समाचार
आँधीखोला बचत तथा ऋण सहकारी संस्था बयरघारीको १६औं बार्षिक साधारणसभा सम्पन्न
रेडियो आँधीखोला
वालिङ, १९ कार्तिक ।
स्याङ्जाको भीरकोट नगरपालिका–१ बयरघारीमा केन्द्रिय कार्यालय रहेको आँधीखोला बचत तथा ऋण सहकारी संस्थाको १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रमका भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले संस्थालाई सही दिशामा अगाडी बढाउन सदस्यहरुको महत्वपुर्ण भुमिका हुने बताउनुभयो । राजनीतिक लगायत कुनै पनि कारणबाट सहकारी संस्थाहरु पछाडी पर्न नुहनेमा कर्माचार्यले जोड दिनुभयो । उहांले पछिल्लो समय सहकारीका नाममा जनतालाई ठगिरहेका समाचार आइरहेको भन्दै त्यसबाट माथी उठेर सहकारी संस्थाहरुले काम गर्नुपर्ने जानकारी दिनुभयो । कार्यक्रममा निवर्तमान नगरप्रमुख छायाराम खनालले सहकारी कृषि र अन्य उत्पादनमा समेत जोडिनुपर्ने बताउनुभयो । यसैगरी कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङ्जाका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक वालिङ शाखाका प्रमुख टिकाराम अधिकारी, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भक्तबहादुर केसी, संस्थाको तर्फबाट चोपनारायण श्रेष्ठ, जितमान श्रेष्ठ, हर्कबहादुर गुरुङ, शेषकान्त खनाल लगायतले सहकारीको बारेमा बोलेका थिए ।
सहकारीको १६औँ वार्षिक साधारणसभामा आयव्यय प्रतिवेदन पेश गर्दै सहकारीका ब्यवस्थापक भरत खड्काले आ.व. २०७९÷८० मा संस्थाले २२ लाख ४५ हजार ८ सय १२ रकम खुद नाफा आर्जन गरिएको बताउनुभयो । सहकारीमा बचतकर्ताको संख्यामा वृद्धि भएसँगै बचत रकम ६ करोड ४८ लाख ५७ हजार ५२ पुगेको छ । यसवर्ष शेयर सदस्य संख्या पनि केही वृद्धि भई १ हजार ६३ पुगेको छ । खड्काका अनुसार सहकारीको लगानीमा रहेको ऋण ६ करोड २९ लाख ५ हजार १ सय ९४ रहेको छ ।
कार्यक्रममा उत्कृष्ट कारोबारी, जेष्ठ नागरिक र विद्यार्थीहरुलाई संस्थाले सम्मान समेत गरेको छ । प्रविधिमैत्री कारोवार, कृषि कार्यक्रमहरुमा लगानी, संस्थाको पुँजी तथा सम्पत्ती वृद्धि गर्ने संस्थाको आगामी योजना रहेको संस्थाका अध्यक्ष तोयनाथ अर्यालले बताउनुभयो । यस्तै सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम, उद्यमशिलता सम्वन्धि कार्यक्रम गर्ने योजना रहेको पनि उहांले जानकारी दिनुभयो ।