अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

जाजरकोट र रुकुम पश्चिम शोकमा : राहतकाे पर्खाइमा छन् भूकम्पपीडित

news

 

कात्तिक १९, सुर्खेत - जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेका छन् । शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएकाे  ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षतिहुँदा यी दुई जिल्ला शोकमा डुबेका छन्  । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ । 

प्रहरीको अद्यावधिक विवरणअनुसार भूकम्पमा परि अहिलेसम्म एक सय ५७ जनाको ज्यान गइसकेको छ भने करिब २०० जना घाइते अवस्थामा छन् ।

जाजरकोट जिल्ला सदरमुकामबाट नजिकै रहेको छेडा बजारमा न्यानो घाममा सुतिरहेका  भूकम्प पीडितले भन्नुभयो 'भूकम्पले घरमा त खासै क्षति भएन तर रातिको भूकम्पको कम्पनले अहिले पनि मुुटु कापिरहेको छ । रातभर निदाउन सकेनौँ । त्यही भएर अहिले सुतिरहेका छौँ । पुराना केही घरमा भने आंशिकरूपमा क्षति भएको छ ।'

भूकम्पले जाजरकोट सदरमुकाम खलङ्गामा  धेरै भौतिक क्षति पुर्याएको छ ।  बस्ती उदाङ्गो देखिएका छन् । क्षतिको यकिन तथ्याङ्क नआए पनि पूर्णरूपमा क्षति भएका घर धेरै छन् । नभत्किएका घर पनि आंशिकरूपमा क्षति भएकै छन् ।

परम्परागत घरमा क्षति धेरै 

जाजरकोटमा गएको भूकम्पले आधुनिक र पक्की घरभन्दा परम्परागत घरमा क्षति धेरै पुर्याएकाे छ । प्रहरीले अहिले तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । तर भूकम्प प्रभावित क्षेत्रमा रहेका भत्किएका घरको अवस्था हेर्दा परम्परागत र पुराना घरमा नै पूर्णरूपमा क्षति पुगेको देखिएको छ । जाजरकोटमा व्यवसाय गर्दै आएका दाङका अमन चौधरीले जाजरकोटमा भूकम्पका कारण भत्किएका घर प्रायजसाे पुराना रहेको जानकारी दिनुभयो  । 

विशेषगरी पछिल्लो समय बनाइएका पक्की घरमा त्यति क्षति नपुगेको स्थानीयले बताएका छन् । जिल्लाका अन्य पालिकामा समेत भूकम्पले क्षति पुर्याएको छ, त्यहाँ पनि परम्परागत र पुराना घरमा क्षति पुगेको बताइएको छ । ढुङ्गा र माटाले बनाइएका घरमा धेरै क्षति पुगेको भेरी नगरपालिका–२ का गोपाल विक बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, 'यो भूकम्पले धेरैजसो ढुङ्गा र माटाले बनाइएका घरमा क्षति पुगेको छ, काठले बनाइएका घर र बजारमा बनाइएका नयाँ पक्की घरमा त्यति क्षति पुगेको छैन ।' तत्कालीन जाजरकोट दरबारसमेत भूकम्पका कारण चिरा परेको छ ।  

खुला आकाशमा रात बिताउँदै 

भूकम्प पीडितले  खुला आकाशमुनि रात बिताएका छन् । भूकम्पकाे त्रासका कारण जाजरकाेट र रुकुम पश्चिमका नागरिकहरु अहिले खुला आकाशमुनि रात बिताइरहेका छन् ।

कतिपयकाे घरहरू भत्किएका छन् भने कतिपयकाे घर चिरा परेर बस्न नमिल्ने अवस्थामा पुगेपछि बाहिर बस्नुपरेको उनीहरुले बताएका छन् । बाहिर बस्नुपरेपछि चिसोको समस्या भएकाे उनीहरूको भनाइ छ । 

उद्धारको काम करिब अन्तिम चरणमा

सरकारले जाजरकोटका भूकम्पबाट प्रभावित भएकाहरूका उद्धारको काम अन्तिम चरणमा पुगेको जनाएकाे छ । भूकम्प प्रभावितको उद्धार गर्न तीनै तहका सरकारको समन्वयात्मक काम गरिरहेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का आफैँ प्रभावितस्थल जाजरकोट आएर उद्धार र राहतको कमी हुन नदिने बताउनुभएको थियो ।

कर्णालीका गाउँपालिका र नगरपालिकासँगै कर्णाली प्रदेश सरकार र अन्य प्रदेश सरकारले समेत राहत सामग्री ल्याएर वितरण गरेका छन् भने विभिन्न सङ्घसंस्थाले समेत राहत सामग्री वितरण गरेको जनाइएको छ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...