समाचार
वालिङ १० मा विउ पैंचो कार्यक्रम अन्तर्गत आलुको विउ वितरण
रेडियो आँधीखोला
वालिङ, २० कार्तिक ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० मा २५ सय किलो आलुको विउ वितरण गरिएको छ । बिउ पैंचो कार्यक्रम अन्तर्गत वडाबाट २५ सय किलो आलुको विउ वितरण गरिएको हो । कार्यक्रम अन्तर्गत विउ लगेका कृषकहरुले आलु लगेको परिणामको आधारमा विउ आलु नै फिर्ता गर्नेछन् । कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीले वालिङ नगरपालिका यसै वर्ष दुध, मासु र तरकारीमा आत्मनिर्भर बन्ने बताउनुभयो ।
उहाँले आलु भण्डारण गर्नका लागि कोल्ड स्टोर निर्माणका लागि पनि पहल भैरहेको बताउनुभयो ।
उपप्रमुख तिवारीले सुन्तला कृषकको हितलाई लक्षित गरी छिटै नै सुन्तलाको समर्थन मुल्य तोक्ने बताउनुभयो । उहाँले नगरपालिकाले तोकेको समर्थन मुल्यमा व्यापारीले सुन्तला खरिद नगरेमा नगरपालिकाले नै खरिद गर्ने स्पष्ट पार्नुभयो । आन्तरिक आम्दानी छ करोड भएको नगरपालिकामा बाह्य स्रोत जोडेर आठ करोड रुपैयाँ कृषिका लागि छुट्याईएको भन्दै उपप्रमुख तिवारीले नगरपालिकाले कृषिलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिका १० का वडा अध्यक्ष सुनिल खनालले नगरपालिकाले दिएको सुविधा अधिकतम प्रयोग गर्न वडाबासीलाई आग्रह गर्नुभयो । उहाँले काम गर्ने किसानले नै सुविधा र अनुदान पाउने भन्दै धेरै भन्दा धेरै उत्पादनमा लाग्न आह्वान गर्नुभयो ।
कार्यक्रम सञ्चालन वडा सचिव दिपेन्द्र गैह्रेले र वडा सदस्य कुमारी गङ्गा शर्माले स्वागत मन्तव्य राख्नुभएको थियोे । कार्यक्रममा व्यवसायी तथा कृषक शिबलाल डुम्रेले उत्पादनबाट धेरै लाभ लिनका लागि बजारको अवस्था र निर्यात गर्ने क्षेत्र हेर्नुपर्ने बताउनुभयो । अर्को कृषक मञ्जु केसीले कम्तिमा आफुलाई पुग्ने उत्पादन आफै गर्न सकेमा पनि धेरै आर्थिक भार कम गर्न सकिने बताउनुभयो । कार्यक्रममा स्थानीय कृषकहरुले कोल्ड स्टोर छिट्टै निर्माण गर्नुपर्ने, आवश्यकताको आधारमा हाते ट्याक्टर वितरण गर्नुपर्ने लगायतका माग राखेका थिए ।