समाचार
विकासका लागी तिनै तह एकजुट हुनुपर्छ ः मन्त्री तिवारी
रेडियो आँधीखोला
वालिङ, २४ कार्तिक ।
गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति अर्याल तिवारीले विकासका लागी तिनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटन गर्दै मन्त्री तिवारीले यस्तो बताउनुभएको हो । मन्त्री तिवारीले भन्नुभयो, ‘विकासको लागी संघिय, प्रदेश र स्थानीय तह एउटै टेबलमा बसेर छलफल गरेर एजेण्डा तयार गरी अगाडि बढ्नुपर्छ । विकास सबैको साझा हो यसमा कुनै स्वार्थ हुनुहुँदैन ।’
मन्त्री तिवारीले कालिगण्डकीसहित स्याङ्जाको विकासमा आँफूले मन्त्रालय सम्हलेपछि धेरै योजनाहरु शुरु भईसकेको भन्दै विषेश गरी यहाँको सिँचाई र खानेपानीका योजनाहरुलाई सफल पार्न नागरिक पनि सक्रिय भएर लाग्नु्पर्ने बताउनुभयो । छुटेका सिंचाईका योजनाहरुलाई आगामी वर्षको वजेटमा समेटिने भन्दै कृषिको संभावनायुक्त स्थानहरुमा सिंचाईमार्फत उर्बर बनाईने मन्त्री तिवारीले बताउनुभयो ।
कार्यक्रममा सांसद निर्मला थापाको समेत सहभागिता रहेको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष खिम थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपप्रमुख सावित्रा कोईरालाले गर्नुभएको थियो ।