समाचार
मनकुमारी स्मृति ट्रष्टद्वारा चण्डिका आधारभूत विद्यालयमा अक्षयकोष स्थापना
रेडियो आँधीखोला
वालिङ, २ मंसिर ।
स्याङ्जामा सामाजिक रुपमा क्रियाशिल संस्था मनकुमारी स्मृति ट्रष्ट स्याङ्जाले स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.८ स्थित चण्डिका आधारभूत विद्यालयमा १ लाखको अक्षयकोष स्थापना तथा सम्झदारी पत्रमा हस्ताक्षर तथा सहयोगीहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा मनकुमारी स्मृति ट्रष्ट स्याङ्जाका अध्यक्ष दिपक जङ्ग विश्वकर्माले मानव जीवनमा केहीन केही अनुकरणीय र उदाहरणीय कार्य गर्नुपर्ने कुरा बताउनु भयो । स्वर्गीय आमा मनकुमारी विश्वकर्माको नाममा स्थापना भएको संस्थाले समाजमा विपन्न,गरिब जेहेन्दार विद्यार्थीहरुलाई शिक्षा दिक्षामा सहयोग गर्ने र समाजका आपत विपतमा सहयोग गर्ने उदेश्यका साथ संस्था स्थापना गरिएको बताउनुभयो ।
१ करोडको कोष निर्माण गरेर स्याङ्जाका विभिन्न क्षेत्रमा सहयोग तथा अक्षयकोष स्थापना गर्ने तथा रचनात्मक र सिर्जनात्मक रुपमा शिक्षण सिकाई सञ्चालन गर्नका लागि संस्थागत रुपमा आजिवन सहयोग गर्ने उदेश्यका साथ ट्रष्टद्वारा सहयोग उपलब्ध गराउने समेत बताउनुभयो ।
आफू रोजगारीको सिलसिलामा अमेरिकाको बासिङ्टन डिसीमा रहेता पनि समाजसेवा गर्ने प्रेरणा आफ्नो आमाबाट पाएको बताउँदै समाजका सारोगारो परेको बेला साथ सहयोग गर्ने कुरा बताउदै आफूले स्थापना गरेको कोषलाई सहिरुपमा सञ्चालन गर्नका लागि आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा युवा तथा खेलकुद पुर्व मन्त्री जगत विश्वकर्माले शैक्षिक विकासले मात्रै हरेक मानिसलाई सहि मार्गमा अगाडि बढ्न टेवा पुग्ने बताउदै आफूले पनि भोलिका दिनमा गरिब दीन दुखीहरुको हितमा कामगर्ने कुरा बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.४ का वडाअध्यक्ष झिम बहादुर थापा, मुक्ति समाज प्रदेश कमिटी सदस्य धनमाया विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको उदेश्य माथी प्रकाश तथा संस्थाको बारेमा जानकारी लेखक तथा विश्लेषक शुसिल वि.केले गराउनु भएको थियो । समझदारी पत्रमा संस्थाका अध्यक्ष दिपक जङ्ग विश्वकर्माले र विद्यालयका प्रअ विष्णु कुमारी श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण वि.कको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य प्रअ विष्णु कुमारी श्रेष्ठले र सञ्चालन शिक्षक टिकाराम अधिकारीेले गर्नुभएको थियो ।