समाचार
वालिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
रेडियो आँधीखोला
वालिङ, १२ मंसिर ।
स्याङ्जाको वालिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । नगरपालिकाको स्थापनाकालदेखि हालसम्म हुन नसकेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । सोमबार बसेको नगर शिक्षा समितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
प्रतियोगितामा वालिङ भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरुका १८ वर्ष उमेरका विद्यार्थीहरुले भाग लिन पाउनेछन् । विद्यालय तहका विद्यार्थीहरुमा खेलकुदको अभिरुची वृद्धि गर्दै खेलका माध्यमबाट भ्रातृत्वको विकास गर्ने उद्धेश्यका साथ प्रतियोगितको आयोजना भएको नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा भलिबल, मार्शल आर्टस्, एथ्लेटिक्स,कबड्डी र फुटबल लगायतका खेलहरु समावेश गरिने नगरपालिकाले जनाएको छ । पौष ४ गतेबाट सुरु हुने प्रतियोगिता वालिङ १० मा रहेको औद्योगिक ग्राममा सञ्चालन हुनेछ ।
बैठकले खेलकुद प्रतियोगितालाई व्यवस्थापन गर्न विधागत तर्फ जिम्मेवारी तोकेको छ । भलिबलतर्फ चित्रजंग गुरुङ,मार्शल आर्टस्तर्फ मनोज बुढाथोकी,एथ्लेटिक्सतर्फ दिपेन्द्र खाँण,कबड्डी तर्फ चतुर्भुज गैह«े र फुटबलतर्फ लाल बहादुर ज्वारचनलाई जिम्मेवारी तोकेको छ ।
उता अर्जुनचौपारी गाउँपालिकाले प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव गर्ने भएको छ । पालिका बनेको सातौँ वर्षमा गाउँपालिकाको खेल मैदानमा पहिलो राष्ट्रपति कप मङ्सिर १९ देखि २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भलिबल, एथलेटिक्स, सटफुट हाइजम्प, लङजम्प, त्रिपलजम्प भलिबल छात्र÷छात्रा हुने छ भने हाजिरीजबाफ, चम्चारेस, म्युजिकल चियर, डोरी तान्ने, स्याक रेसलगायतका प्रतिस्पर्धा हुने पालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।
राष्ट्रपति कप तथा शैक्षिक महोत्सवमा छ माविसहित २८ विद्यालयका ३३० जना विद्यार्थी सहभागी हुनेछन् । राष्ट्रपति कपको जिल्लास्तरीय प्रतिस्पर्धामा व्यक्तिगततर्फ प्रथम र द्वितीय तथा भलिबलमा एक टिम सहभागी हुनेछ ।