समाचार
औंसा किराले सुन्तला खस्न थालेपनि स्याङजाका कृषक चिन्तित
रेडियो आँधीखोला
वालिङ, १४ मंसिर ।
सुन्तला पाकेर बगैचा पहेलपुर हुनै लाग्दा स्याङजाका किसान भने सुन्तलामा किरा लागेर खस्न शुरु भएपछि चिन्तीत बनेका छन् । फुल खेलेर बतीलो लाग्ने बेलामा असिनाले सुन्तलाको फल सखाप पारेर चिन्तीत बनेका किसान फेरी सुन्तला पाक्ने बेलामा औँसे किरा र पतेरो लागेर सुन्तला खसेपछि झन चिन्तीत बनेका हुन । सुन्तला बेचेर मनग्य आम्दानी गर्ने बेलामा औँसे किरा र पतेरोले सुन्तला झरेर बगैचा भरिएको किसानहरुले बताए ।
पतुलीबजारका मुक्ति अधिकारीले असिना र खडेरीबाट जोखिएको सुन्तला विक्रि गरेर केहि आम्दानी गर्ने आशामा रहेका बेला औँसो किराका कारण सुन्तला खस्न थालेपनि चिन्तित बनाएको बताउनुभयो । गत वर्ष धेरै नै राम्रो भएको भए पनि यसपाली खडेरी, असिनाले सुन्तलाका दाना कम रहेको भन्दै गत वर्ष भन्दा यसवर्ष ४० प्रतिशत सुन्तला कम उत्पादन भएकोे कृषक अधिकारीले बताउनुभयो ।
अर्को कृषक शिव लामिछानेले सुन्तला खेति कृषकका लागी बिमाको व्यवस्था गर्न सकेमा कृषकले बेला बेलामा बेहोर्ने यस्ता समस्यामा केहि राहत हुने बताउनुहुन्छ । पतेरोले उत्पादन लिने बेलामा समेत असर गरेको भन्दै यसअघि साउन र भदौमा विषादी प्रयोग गरेर केहि जोगाईएको सुन्तला फेरि खस्न थालेको अर्को कृषक हुमकान्त अधिकारीको भनाई छ ।
स्याङजामा धनकुटाको खोकु र स्थानीय जातका सुन्तला पाकेर बगैचा पहेलपुर हुन शुरु थालेको छ । सुन्तलामा लाग्ने रोग तथा किराहरुको नियन्त्रणका लागि खसेका सुन्तला जम्मा गर्न पलास्टिक वितरण गरिएको सुन्तला सुपरजोन कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार सुन्तलामा रोग तथा किराहरु फैलिन नदिन कुहिएको सुन्तला बन्द पलास्टिकमा जम्मा गर्नुपर्ने हुन्छ । औँसा किराले झरेका सुन्तलालाई प्लाष्टिकमा जम्मा गर्ने र नष्ट गर्ने यो प्रक्रियाले किराको चक्र बे्रक गर्न सकिने भएकाले कृषकलाई प्लाष्टिक वितरण गरिएको हो ।
सुन्तला सुपरजोनका कार्यालय प्रमुख माधव लम्सालले सुन्तलामा सुन्तला खस्ने समस्याको रुपमा औँसा किराको प्रकोप रहेको भन्दै यसको चक्र बे्रक गर्न प्लाष्टिकमा झरेका सुन्तला संकलन गरेर नष्ट गर्ने गरिएको बताउनुभयो । कार्यालय प्रमुख लम्सालले भन्नुभयो, ‘चाईनिस फ्रुट प्लाई अर्थात औँसा किराको चक्र ब्रेक गर्न झरेका सुन्तला प्लाष्टिकमा जम्मा गर्ने र नष्ट गर्ने गरेका छौँ । झरेका सुन्तला भुँईमा नष्ट गरियो भने फेरि जमिनमा किराले फुल पार्ने र अर्को सिजनका सुन्तलालाई असर गर्ने गर्छ ।’ किरालाई माटोमा जाँन नदिनका लागी प्लाष्टिक थैलोमा राखेर नष्ट गर्ने गरिएको प्रमुख लम्सालले बताउनुभयो ।
जिल्ला भित्र २१ सय हेक्टरमा सुन्तलाको खेती हुदै आएको छ । स्याङजामा गत वर्ष २२ हजार मेट्रिक्टन सुन्तला उत्पादन हुदाँ १ अर्व ३८ करोडको कारोबार भएको थियो । यस वर्ष असिना पानीका कारण सुन्तला पातलो फलेकाले उत्पादन घट्न सक्ने कार्यालयको अनुमान रहेको छ । जिल्लामा पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिका सहित फेदीखोला, विरुवा, अर्जुनचौपारी, आँधिखोला र हरिनास सुन्तला उत्पादनका पकेट क्षेत्र हुन् । जिल्ला भरी १५ हजार घरधुरी सुन्तला किसानका ५ हजार वढी साना ठुला सुन्तलाका बगैचा रहेका छन् ।